सरकारले आगामी आर्थिक वर्षलाई ‘युवा परिचालन वर्ष’का रुपमा सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धन, नेतृत्व विकास र सामाजिक आर्थिक विकासमा परिचालन गर्न आगामी आर्थिक वर्षमा युवा परिचालन वर्ष सञ्चालन गरिने भएको हो ।
राष्ट्रिय हितप्रति समर्पित युवा जनशक्ति विकास र परिचालनका लागि राष्ट्रिय सेवा दलको भूमिकालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ नीति तथा कार्यक्रममा भनिएको छ, युवाको आर्थिक–सामाजिक सशक्तीकरण गर्न उद्यमशीलता विकास एवं प्राविधिक तथा व्यावसायिक तालीम उपलब्ध गराइनेछ ।
यसैगरी सरकारले सरकारी, निजी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र नेपाल स्काउटबाट मानवीय सेवा, विपद् व्यवस्थापन एवं राष्ट्रिय विकास निर्माण कार्यमा स्वयंसेवकको परिचालन गरिने उल्लेख गरिएको छ ।
तीन लाख युवा स्वरोजगार
यसैबीच सरकारले पाँच वर्षभित्र तीन लाख युवालाई स्वरोजगार बनाउने भएको छ । वित्तीय सेवाको विस्तार गरी आगामी एक वर्षभित्र ५० हजार र पाँच वर्षभित्र तीन लाख युवालाई स्वरोजगार बनाइने नीतिमा उल्लेख छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले सरकारको नीति तथा कार्यक्रमले युवालाई स्वरोजगार बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले अनुदानबाट ऋण प्रवाह गरेर ती युवालाई स्वरोजगार बनाइने जानकारी गराउनुभयो । अहिले कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवा छन् ।
युवा उद्यमीलाई व्यवसाय सञ्चालनका लागि शुरुआती पूँजीलगायतका सुविधा विस्तार गरी प्राविधिक, व्यावसायिक र सीपमूलक तालीम उपलब्ध गराई स्वदेशमा नै रोजगारीका लागि युवालाई आकर्षित गरिने नीतिमा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६