काठमाडौं: कति वर्षको उमेरदेखि जबर्जस्ती करणीको हदमा पुग्छ मानिस ? बालमनोविज्ञानको भाषामा भन्ने हो भने किशोरावस्था लागेपछि विपरीत लिङ्गतर्फ आकर्षित हुन्छन् । तर यहाँ त १० वर्ष नै नपुगेका नाबालकहरूलाई पनि जबर्जस्ती करणीको अभियोग लागेका छन् ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा मात्र चार जना बालकहरूमाथि जबर्जस्ती करणीको अभियोग लागेका छन् भने गत आर्थिक वर्षमा एक र आर्थिक वर्ष २०७३/०७४ मा छ जनामाथि जबर्जस्ती करणीको अभियोग लागेको छ ।
‘यो समस्या बालबिज्याइँ हो । यसको जिम्मेवार बालक हुर्किने वातावरण र पारिवारिक चेतना हुन्छ’, बालमनोविज्ञ डा. गंगा पाठक भन्छिन्, ‘ब्रोकन परिवारमा हुर्किएका बालबालिकाहरू यस्तो समस्याबाट ग्रस्त रहेको पाइएको छ । घरमा झगडा भइरहने, माया ममता नपाएको, दोस्रो विवाहका कारण सानीआमा र सौतेलो बाबुबाट हुकिर्नेहरू बढी देखिएका छन् ।’ जस्तो वातावरण पाउँछ यस्तै व्यवहार देखाउने भएकाले बालमनोविज्ञानअनुसार नहुँदा बढी समस्या भएको उनकोे भनाइ छ ।
त्यस्तै गरिबीका कारण बालबालिकाको इच्छा र आवश्यकतालाई बेवास्ता गर्नाले पनि यस्ता समस्याहरू आउने गरेका र अभिाभावक शिक्षा र चेतनामा लगानी आवश्यक भएको उनको भनाइ छ । ‘नेपालमा धेरै विद्यालय छन् । बालबालिकालाई रटाउने काम हुन्छ । अब अभिभावक शिक्षाकोे पनि आवश्यकता देखिएको छ’, उनको भनाइ छ ।
यस्ता घटना हुनु दुःखद हो भन्दै यसमा परिवार र हुर्किने वातावरणको प्रभाव रहने भएकाले सचेत हुनपर्ने मनोविद् करुण कुँवरले सुझाव दिइन् । जबर्जस्ती करणीको हदसम्म पुग्ने त्यो उमेरमा सोच्नै नसकिने भएकाले त्यो उमेरमा बालकले पाएको वातावरणले प्रभाव पारेको उनको भनाइ छ ।
नेपाली समाजमा ९–१० वर्षको उमेरसम्म आमाबुबा सँगै सुत्ने तथा सानै छ भनेर हेपेर थाहा पाउने गरी शारीरिक क्रियाकलाप गर्नाले यस्ता समस्या आउने कुँवर बताउँछिन् । कम्तीमा दुई वर्षदेखि बच्चालाई अर्काे बेडमा सुताउने तथा तीन वर्षको उमेरदेखि अर्कै कोठामा सुताउनुपर्ने उनको सुझाव छ ।
त्यो उमेरका बालबालिकाहरूले हेरेर नै सिक्ने भएकाले देखेको नक्कल गर्छन् । त्यसैले अभियोग नै लगाउने हो भने त्यो वातावरण सिर्जना जोकोहीलाई लगाउनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘घरमा झगडा भएको देखेका बच्चाले भोलि खेल्ने क्रममा झगडा गरेर नै खोलौँ भन्छ । त्यसैले बच्चाको छेउमा झगडा पनि गर्नुहुँदैन ।’
घरमा आमाबुबाले गरेको काम, बोलेको शैलीलगायत सबै कुरा हेरेर नै सिक्ने भएकाले त्यो उमेरमा हुर्किने वातावरणले उसको भविष्य निर्माण गर्ने उनले बताइन् । यसर्थ बच्चाका सामु सबै कुरामा सचेत हुनुपर्ने मनोविद् कुवँरको सुझाव छ ।
बालबालिका ऐन, २०७५ को दफा ३६ को उपदफा १ बमोजिम १० वर्षमुनिका बालबालिकालाई कुनै पनि सजाय हुनेछैन । कानुनतः त्यो उमेरमा गरेको गल्तीलाई सजायको व्यवस्था नभए पनि यस्ता गतिविधिमा वर्सेनि बढिरहेको तथ्याङ्क छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार पछिल्लो समय पेसेवर अपराध कम भए पनि सामाजिक विकृतिका अपराध बढ्दै गएकाले यस्ता नाबालकहरूमाथि पनि अभियोग लागेको हो । घर, समाज र विद्यालयको वातावरणले यस्ता गतिविधिमा नाबालकहरू मुछिएका हुन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार सबै अपराधको ९ प्रतिशत १६ वर्षमुनिका बालबालिकाहरूले ओगट्नुले पनि यो कुरा देखाउँछ ।
यस्ता बालबालिकाको उमेरमा हुने अप्रिय घटना न्यूनीकरणका लागि नेपाल सरकारले ‘एन्टी बुलिङ–एन्टी ¥यागिङ’ कार्यक्रमको सुरुवात गरेको छ । ७५३ वटा स्थानीय तहको प्रत्येक विद्यालयमा गएर नेपाल प्रहरीका तालिमप्राप्त सहजकर्ताबाट सहजीकरणको कार्यक्रम रहेको छ भने असार मसान्तसम्ममा सबै स्थानीय तहमा पुगिसक्ने प्रहरीले जनाएको छ ।
यो कार्यक्रम सामुदाय प्रहरी विद्यालय साझेदारीअन्तर्गतको कार्यक्रम रहेको प्रहरीले जनाएको छ । यस कार्यक्रममा शिक्षकहरूलाई बढी प्राथमिकतामा राखिनेछ । यस्ता कार्य न्यूनीकरण र व्यवस्थापनमा शिक्षकहरू जिम्मेवार रहने भएकाले यस्ता कार्यका लागि सचेतनामूलक कार्यक्रमको थालनी गरेको एक हप्ता भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २१, २०७६