लहान : लहान नगरपालिका–३ मा निर्माण भएको बसपार्क १४ वर्ष बितिसक्दा पनि सञ्चालन नहुँदा व्यवसायी राजमार्गमै सवारीसाधन अव्यवस्थित तरिकाले पार्किङ गर्न बाध्य छन् ।
सम्बन्धित निकायको उदासीनताका कारण गत २०६१ सालदेखि निर्माण सुरु गरिएको बसपार्कमा अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने बस मुख्य सडकमै पार्किङ गर्ने गरिएको छ ।
लहानस्थित सप्तऋषि नर्सिङ होमदेखि एक सय मिटर दक्षिणमा करिब तीन बिगाह क्षेत्रफलमा निर्माण भएको बसपार्कबाट बस सञ्चालन गर्न पटकपटक पहल भए पनि बस व्यवसायीको दबाबमा अझै बस सञ्चालन नहँुदा निर्माण भएको भौतिक पूर्वाधार प्रयोगविहीन भएको छ ।
लहान नगरपालिकाले स्थानीय निजी कम्पनी लहान ट्रान्सपोर्ट टर्मिनल म्यानेजमेन्ट कम्पनीलाई गत २०६१ सालमा बसपार्क सञ्चालन गर्न सम्झौता गरेको थियो । तर २०६२/६३ को जनआन्दोलनपश्चात् तत्कालीन पदाधिकारीहरू हटेपछि सो निर्माण कार्य पनि बन्द भएको थियो ।
सात करोड रुपैयाँको लागतमा बसपार्कसम्म जाने ग्राभेल सडक, काउन्टर, पसलहरू सञ्चालन गर्ने सटरहरू, शौचालय तथा प्रहरी बिट निर्माण भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
नगरपालिका र आफूहरूबीच ३५ वर्षका लागि बसपार्क सञ्चालन गर्ने सम्झौता भएकाले यही बसपार्कबाट बस सञ्चालन गर्न नगरपालिकाका जनप्रतिनिधिहरूसँग पटक पटक आग्रह गरेको सञ्चालक समिति सदस्य साहको कथन छ ।
आफूहरूसँगको छलफलका क्रममा नगरपालिकाका प्रमुख मुनी साहले बसपार्कबाट बस सञ्चालन गर्न पहल र प्रयत्न गरिने प्रतिबद्धता जनाएको साह बताउँछन् ।
‘निर्माण सुरु गरेको दुई वर्षभित्रै जग्गा खरिद गरेर सडक र बसपार्कमा भौतिक पूर्वाधारहरू निर्माण गरिसकेका छौं’, कम्पनीका सञ्चालक समितिका सदस्य विनोद साहले भने, ‘बसपार्क निर्माण भएपछि केही वर्षअघि चार÷पाँच महिना जति बसपार्कबाट सञ्चालन भएको थियो । तर त्यसपछि बस व्यवसायीको दबाबमा बन्द भएको हो ।’
बसपार्क सञ्चालन नहँुदा सडकमै जताततै सवारी साधन पार्किङ हुने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुनाका साथै दुर्घटनासमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेत बताउँछन् ।
बसपार्कमा करिब छ सयसवारी साधन पार्किङ गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ । उक्त बसपार्क लामो समयसम्म पनि सञ्चालन नभएपछि लहान नगरपालिका–१ स्थित सिंगराहीमा नगरपालिकाले नयाँ बसपार्क निर्माण थालेको लहान नगरपालिकाका इन्जिनियर तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शत्रुधन चौधरीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६