लहान : सिरहा नगरपालिका–१४ खिरौनामा बिहीबार राति लगभग साढे १ बजे रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषाकुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका छन् ।
गत फागुन १६ गते गोलबजार नगरपालिका–८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो ।
बिहेपछि सासूले थप दाइजो ल्याउन दबाब दिँदै आएको मनिषाका बाबु रघुनाथ मण्डलले बताएका छन् ।
सासूले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिँदै आएकी थिइन् । दाइजो नल्याएकै निहुँमा आफ्नै श्रीमान्ले घाँटी थिचेर श्रीमतीको हत्या गरेका हुन् ।
केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै मनिषालाई चरम यातना दिएको मनिषाका बाबु रघुनाथले बताए ।
मनिषाको हत्या भएपछि प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज कँडेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६