लहान : नेपाल लाइफ इन्स्योरेन्सको लहान शाखामा जम्मा गरेको रकम पटकपटक ऋण लिएको भन्दै सिरहाको लहान नगरपालिका–१ का दिनेश साह र उनकी श्रीमती सैनुनादेवी साहको बीमित रकम कम्पनीका कर्मचारीहरूले चलाएको खुलासा भएको छ ।
साह दम्पतीले आफूहरूले बीमा गरेको रकम ऋण तथा कुनै प्रयोजनमा ननिकालेको मौखिक उजुरी इलाका प्रहरी कार्यालय लहानमा दिएपछि यो घटना सार्वजनिक भएको छ ।
साह दम्पतीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन सहारा र जीवन ज्योति बीमा लगायत विभिन्न पोलिसीमा दस वर्षदेखि ५३ लाख रुपैयाँको बीमा गराएका थिए । साह दम्पतीका ऐजेन्टको रुपमा नथुनी साह र लहान स्थित कम्पनीका लेखापाल अनिल साहको मिलमतोमा पटकपटक रकम निकालिएको सार्वजनिक भएपछि ठगी भएको भन्दै इलाका प्रहरी कार्यालयमा साह दम्पतीले मौखिक उजुरी गरेका थिए ।
कम्पनीको नाम बद्नाम हुने भएपछि इन्स्योरेन्स पक्ष, ऐजेन्ट नथुनी साह र लेखापाल अनिल साहलगायत कम्पनीका उच्च पदधिकारीहरूले असोज मसान्तभित्र निकालिएको रकम व्यवस्थापन गरी उपलब्ध गराउने भएपछि सम्झौता भएको पीडित दिनेश साहले बताए ।
उता, लेखापाल अनिल साह नेपाल लाइफ इन्स्योरेन्स छाडेर सिटिजन लाइफ इन्स्योरेन्स लहानमा काम गर्न थालेका छन् ।
पीडित साह दम्पतीले आफ्नो बीमित रकम पाउनका लागि कम्पनीमा दुई सातापहिले निवेदन दिए पनि उनीहरूको कुरा नसुनेपछि प्रहरीमा उजुरी गरेका थिए । चारैतिर न्यायका लागि ढोका ढकढक्याउन थालेपछि इन्स्योरेन्सको ठगीबारे समाचार आएपछि पीडित साहलाई तीन दिनअघि मात्रै बीमित रकम फिर्ता गर्ने सम्झौता गरिएको छ ।
दिनेश साहको नाममा ३१ लाख ९७ हजार दुई सय ९७ र सैनुनादेवी साहको नाममा २१ लाख ६८ हजार आठ सय ४० गरी जम्मा ५३ लाख ६६ हजार एक सय ३७ रुपैयाँ इन्स्योरेन्समा जम्मा गरेका थिए ।
तर दुवै जनाको नाममा जम्मा रहेको बीमा रकमबाट पाँच वर्षदेखि विभिन्न मितिमा पटकपटक गरी २१ लाख ३० हजार ऋण निकालिसकेको रेकर्ड छ । जसको ब्याज मात्रै १० लाख ८१ हजार तीन सय २५ रुपैयाँ भइसकेको छ । साँवा र ब्याज गरी उनको नाममा ३२ लाख ११ हजार तीन सय २५ रुपैयाँ ऋण देखिएको छ ।
जब दिनेश घरायसी समस्याका कारण फाइल बोकेर ऋण लिन अफिस पुगे तब उनले पहिले नै ऋण निकालेको थाहा पाएपछि उनी आश्चर्यचकित भए । पाँच वर्षदेखि पटक–पटक आफ्नो नाममा ऋण निकाल्दा पनि कम्पनीले थाहा नपाउनु आश्चर्यको विषय बनेको छ ।
पीडित साहले भने, ‘अरू बेला मोबाइलमा म्यासेज र खबर आउँथ्यो । तर ऋण निकाल्दा किन एसएमएस आएन ?’
लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख सुशील चौधरीसँग सम्पर्क गर्दा ‘यो केही होइन’ भन्ने अभिव्यक्ति दिए । ‘पीडितले पैसा पाउने निश्चित छ, लेखापाल अनिल साह हाम्रो कम्पनी छाडिसकेका छन् । हाम्रो पीडित साहसँग सबै कुरा भइसकेको छ’, यति भन्दै उनले फोन काटे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६