काठमाडौं : इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा जर्मनीको आइनट्रायच फ्रान्कफर्टसँग १–१ गोलको बराबरी खेलेको छ ।
खेल अवधिभर बलमाथि नियन्त्रण कायम गरेपनि चेल्सीले गोल गर्न सकेन । २३ औ मिनेटमा लुका जोभिचले गोल गर्दै फ्रान्कफर्टलाई अग्रता दिलाएका थिए । खेलको ४५ औ मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए ।
दोस्रो हाफमा चेल्सीले राम्रो प्रदर्शन गरेपनि गोल गर्न सकेन । चेल्सीले फ्रान्कफर्टको पोष्टमा १६ पटक प्रहार गरेको थियो । चेल्सीले अब दोस्रो लेगको खेल आगामी बिहीबार आफ्नै मैदानमा खेल्नेछ ।
युरोपा लिगकै अर्को खेलमा आर्सनलले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । आर्सनलले आफ्नै मैदानमा भ्यालेन्सियालाई ३–१ ले पराजित गरेको हो । आर्सनलको जितमा लाकाजेटेले २ तथा औबामियाङले एक गोल गरे ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६