विराटनगर : पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको जंगलमा एक व्यक्तिको शव सडेको अवस्थामा फेलापरेको छ । बेलबारी नगरपालिकाको सिंहदेवी सामुदायिक वनभित्र ५१ वर्षीय कुमार खड्का मृत अवस्थामा फेलापरेको स्थानीयबासीले जनाएका छन् ।
प्रहरीले भने घटनास्थलमा आवश्यक अनुसन्धान कार्य भइरहेकाले मृत व्यक्ति को हुन् भन्ने यकिन नभएको जनाएको छ ।
बेलबारी नगरपालिका– १० का खड्का वैशाख २ गते घर छाडेर हिँडेका थिए । घरमा भएको सामान्य झगडाका कारण बेपत्ता भएका खड्काको शव गह्नाउने अवस्थामा रहेको थियो । उनको साथमा रहेको मोवाइलका कारण छोरा विवेक खड्काले शवको पहिचान गरेका थिए । विवेकका अनुसार उनी दुई दिन धरानमा रहेका आफन्तकहाँ बसेका थिए ।
राजमार्ग भन्दा करिब २०० मिटरभित्र घाँस दाउरा गर्न गएकाले बिहीबार दिउँसो ४ बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गह्नाउने अवस्थामा घोप्टो परेको थियो । मृतक खड्काको छेउमा दुईवटा बिषको बट्टा भएका कारण आत्महत्या भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले प्रहरीको टोली घटनास्थलमा पुगेको जानकारी दिँदै प्रहरीले घटनाको मुचुल्का उठाउने कार्य गरिरहेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६