विराटनगर : विराटनगरस्थित एक निजी कम्पनीका सञ्चालक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–३ बरगाछीमा रहेको फर्स्ट ग्रेभियर नामक कम्पनीका सञ्चालक दीपक गौतमले आफ्नै कर्मचारीकी पत्नीलाई जबजस्ती करणी गरेको आरोपमा प्रहरी खोरमा थुनिनुपरेको हो ।
घटना विवरणअनुसार ४५ वर्षीय गौतमद्वारा बरगाछीमा सञ्चालित सो कम्पनीमा कार्यरत एक कर्मचारीलाई त्यहीँ बसोबासको समेत व्यवस्था गरिदिएका थिए । ती कर्मचारी आफ्नी पत्नी र छोराछोरीसाथ कम्पनी परिसरमा रहेको कोठामा बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत आइतबार साँझ ७ बजे ती कर्मचारीकी पत्नीलाई कोठामा गएर जबर्जस्ती करणी गरेका थिए ।
कोठामा कोही नभएको मौका पारेर गौतमले २७ वर्षीय कर्मचारीकी पत्नीलाई जबर्जस्ती गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी घनश्याम श्रेष्ठले आजको न्युजलाई भने, ‘दुई दिनसम्म ती पीडित महिला कुरा लुकाएर बसिन् । तर बुधबार मात्र उनीहरूले हामीकहाँ आएर सम्पूर्ण कुरा बताए । हामीले पीडकलाई बुधबार नै पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढायौँ ।’
पीडित महिलाले आफू गौतमबाट जबर्जस्ती करणीको सिकार भएको कुरा आफ्ना पतिलाई बताएपछि उनीहरू प्रहरी समक्ष पुगेका थिए । प्रहरीले पीडितकै जाहेरीका आधारमा मुद्दा प्रक्रिया अघि बढाएको जनाएको छ ।
जाहेरी प्राप्त भएलगतै पक्राउ परेका गौतमलाई मुलुकी अपराध संहिता २०७४ को जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २०, २०७६