काठमाडौं : नेपालमा महिला फुटबल टिमबारे खासै चर्चा हुँदैन । यसको मुख्य कारण के हुन सक्छ ? नेपाल प्रहरी महिला फुटबल टिम क्याप्टेन निरु थापा भन्छिन्, ‘सेवा सुविधा, पुरुष खेलाडीको तुलनामा दोस्रो दर्जाको रूपमा हेरिनुलगायत थुप्रै कारणहरू छन् ।’ त्यस्तै, आर्मी महिला टिम क्याप्टेन कृष्ण खत्रीको बुझाइ छ, ‘लामो समयसम्म खेल्नलाई विवाह बाधक बनेको छ ।’
यता, सशस्त्र प्रहरी महिला फुटबल टिमको मात्रै नभएर राष्ट्रिय फुटबल टिमकी गोल रक्षक एन्जिला तुम्बापो सुब्बा भन्छिन्, ‘एक त फुटबलमा लागेपछि पढाइ छाड्नु, अर्कोतिर फुटबल खेल्न नसक्ने भएपछि नपढेका कारण राम्रो जागिर नपाइनु तथा धेरै प्रतियोगिता नहुनु प्रमुख कारण हुन् ।’
कुनै ठूला प्रतियोगिता जितेर आउँदा पनि उचित प्रोत्साहन नहुनु, पुरुष खेलाडीको आधाजसो पनि सेवा सुविधा महिला खेलाडीलाई नहुनुले पनि नेपाली महिला फुटबल त्यति उत्साहजनक नभएको खेलाडी बताउँछन् ।
विभागीय तीन टोलीका खेलाडीले दिएका कारणहरू बाहेक अरू पनि थुप्रै छन् । सशस्त्र प्रहरी बल महिला फुटबल टिमका म्यानेजरसमेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रेम श्रेष्ठका अनुसार महिला खेलाडीहरूले आफ्नो अवधिभर बस्न चाहेमा उमेर अवधिभर बस्न पाउँछन् तर निश्चित समयसम्म खेल्न नपाउने भएपछि उनीहरू विभागकै अन्य क्षेत्रमा बसेर पनि काम गर्न पाउनेछन् । उनका अनुसार कसैले टिमकै क्याप्टेन, प्रशिक्षक वा अफिसियल म्यानेजमेन्ट टिममा पनि रहेर काम गर्न सक्छन् ।
पेन्सनका लागि न्यूनतम २० वर्ष जागिर खानुपर्ने हुन्छ । तर १५, १० तथा पाँच वर्षपछि जागिर छाड्न पनि सक्छन् । र, धेरैले यसै पनि गरिरहेका छन् । १५ वर्ष काम गरेकालाई ‘क’, १० वर्ष काम गरेर छाड्नेलाई ‘ख’ तथा पाँच वर्ष काम गरेकालाई ‘ग’ ग्रेडको उपदान दिने सशस्त्रको प्रावधान छ ।
२०६३ सालमा महिला फुटबल टिम गठनपछि अहिलेसम्म सात दर्जन खेलाडीहरू सशस्त्र प्रहरी महिला फुटबल टिममा आवद्ध भइसकेका छन् । त्यसमध्ये आधाको हाराहारीमा जागिर छाडेर विदेश गएका छन् । दुवई, मकाउ, अमेरिकालगायतका स्थानमा उनीहरू जाने श्रेष्ठ बताउँछन् । यसरी जानेहरूमा अधिकांश राष्ट्रिय टोलीका खेलाडीहरू रहेको उनले बताए ।
खेल्न छाडिसकेपछि कोही कोच, कोही म्यानेजर, अम्पायर वा अफिसियल टिममा रहेर पनि काम गर्न सकिने सशस्त्र प्रहरी महिला टिम क्याप्टेन जमुना गुरुङ बताउँछिन् ।
पेन्सनका लागि न्यूनतम २० वर्ष जागिर खानुपर्ने हुन्छ । तर १५, १० तथा पाँच वर्षपछि जागिर छाड्न पनि सक्छन् । र, धेरैले यसै पनि गरिरहेका छन् । १५ वर्ष काम गरेकालाई ‘क’, १० वर्ष काम गरेर छाड्नेलाई ‘ख’ तथा पाँच वर्ष काम गरेकालाई ‘ग’ ग्रेडको उपदान दिने सशस्त्रको प्रावधान छ ।
सशस्त्र प्रहरी बलका अनुसार विदेश गएकाहरू दीपा क्षेत्री, लक्ष्मी पौडल, उषा भण्डारी, सजना राना मगर, नीरा महर्जन, समस्या कँडेलहरू सेक्युरिटी गार्डमा गएका छन् । उनीहरूमध्ये अधिकांश दुवई, मकाउ र केही अमेरिका गएका छन् । अमेरिका जानेहरू भने मोवाइल पसलमा काम गर्दै आएका छन् । उनीहरूमध्ये अधिकांश राष्ट्रिय खेलाडीबाट खेलिसकेकाहरू हुन् ।
नेपाल प्रहरी क्याप्टेन नीरु थापाका अनुसार परिवारले खेल्न नदिने तथा पढ्न दबाब दिने जस्ता कारणले यस्तो गाह्रो हुने गर्छ । भन्छिन्, ‘पढाइ र खेल दुवै गर्न गाह्रो हुन्छ । एक त विभागीय टिम, त्यसमाथि पढाइ गाह्रो हुन्छ ।’ तर नेपाल प्रहरी टिमबाट खेल्नेहरूलाई प्रहरी जवानभन्दा माथिल्लो पदमा बढुवा नदिँदा धेरै समस्या आउने खेलाडीहरूले पटक पटक माग गरेका थिए । तर अहिलेसम्म त्यो माग पूरा भएको छैन । सशस्त्र प्रहरीमा भने फुटबल खेलाडीलाई प्रहरी हवल्दारसम्मको बढुवा दिने प्रचलन छ ।
नेपाल प्रहरी महिला फुटबल टिमबाट राष्ट्रिय खेलाडी नमिता दली, यशोदा लामा, एजिला शाह, प्रमिला चौधरी जागिर छाडेर विदेश गएका छन् । नेसनल टिममा पर्नेलाई २२ हजार रुपैयाँ मासिक तलब अतिरिक्त मासिक सात हजार रुपैयाँ भत्ता पाउने गर्छन् । यता, सेनाबाट फुटबल खेल्नेहरू भने खासै जागिर छाडेर विदेश नगएको सेनाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६