कठमाडौं : सगरमाथा क्षेत्रमा पर्यटकको आगमनसँगै ड्रोन क्यामेरा चुनौती बन्दै गएको छ । सगरमाथा क्षेत्रमा कसैले सोधीखोजी नै नगरी क्यामेरा लाने गरेको समेत पाइएको तथा क्यामेरा सानो हुने भएकाले पर्यटकको झोला जाँच गर्न नसकिने भएकाले चुनौती भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । उनका अनुसार अनुगमनका लागि कुनै ‘टेक्नोलोजी’ नभएकाले अनुगमन गर्न मुस्किल भएको छ ।
चालु आर्थिक वर्षमा मात्र अनुमतिबिना उडाइएका पाँचवटा ड्रोन क्यामेरा बरामद गरिएको छ भने अघिल्लो आर्थिक वर्षमा दुईवटा बरामद गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज नियमावलीअनुसार ड्रोन क्यामेरा उडाउनका लागि नेपालीले १० हजार रुपैयाँ तथा भिडियो खिच्न थप २५ प्रतिशत शुल्क तिर्नुपर्छ भने विदेशीले १५ सय डलर तिर्नुपर्छ भने भिडियोको हकमा थप २५ प्रतिशत नै तिर्नुपर्ने व्यवस्था छ ।
अनुमति नलिई ड्रोन क्यामेराको प्रयोग गरी फोटो र भिडियो खिचेमा नियमअनुसारको दोब्बर शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै, झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ ले पनि अनुमति नलिई सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुटिङ गरेका छन् । उनीहरूले बिनाअनुमति भिडियो खिचेपछि सगरमाथा राष्ट्रिय निकुञ्जले जरिवाना तिराएको सगरमाथा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत भट्टराईले बताए । उनका अनुसार अनुमति शुल्क र भिडियोको शुल्कसहित १२ हजार २५० रुपैयाँ अनुमति शुल्क हुन आउँछ भने त्यसको दोब्बर २५ हजार रुपैयाँ तिरेका हुन् ।
नेपालमा ड्रोन क्यमेरा उडाउन रक्षा, गृह मन्त्रालय र निकुञ्जबाट स्वीकृति दिनुपर्ने व्यवस्था छ । हिमाली राष्ट्रिय निकुञ्ज संशोधित नियमावली, २०७५ अनुसार सगरमाथा राष्ट्रिय निकुञ्जभित्र कुनै पनि ड्रोन क्यामेराबाट फोटो वा भिडियो खिच्नुपरेमा शुल्क तिर्नुपर्छ भने अनुमति नलिई खिचेको पाइएमा त्यसको दोब्बर तिर्नुपर्ने व्यवस्था छ । यदि उक्त रकम नतिरेमा क्यामेरा नै बरामद गर्न सकिने नियमावलीमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६