ल्याटिन अमेरिकी राष्ट्र भेनेजुएला यतिबेला आर्थिकसँगै चरम राजनीतिक संकटमा फसेको छ । देश दुई फरक फरक राजनीतिक कित्तामा विभाजित हुँदा जनताको जीवन नारकीय बनेको छ । राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता हुवाँ गुएइदोका समर्थकहरू सडकमा पौँठेजोरी खेल्दा देश भिडन्तको जोखिममा छ ।
पेट्रोलियम पदार्थको धनी देश गरिबीको चरम अवस्थाको सामना गरिरहेको छ । विद्युत् उत्पादनमा प्रयोग भएका टर्बाइन मर्मत हुन सकेका छैनन् । ठूलो मात्रामा मानवीय सहायताको आवश्यकता भए पनि त्यसमाथि सत्तारुढ र विपक्षी आफ्नो राजनीति स्थापित गर्न खोजिरहेका छन् । जनता भने भोकभोकै दुई साँढेको जुधाइ हेर्दै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।
राष्ट्रपति मदुरो सहायता सामग्री वितरण बहाना मात्र भएको र यो केवल अमेरिका र कोलम्बियाको युद्ध योजनाको एउटा पाटो रहेको ठान्छन् । विपक्षी नेता हुवाँ गुएइदो त्यही राहत लिन लालायित छन् । राहत सामग्रीका नाममा अमेरिकाले सैन्य अतिक्रमण गर्न लागेको बताएर राष्ट्रपति मदुरो थाक्दैनन् अनि सरकारलाई समर्थन गर्दै आएको रुसबाट सेनाका विमान सैनिकसहित भेनेजुएला पुग्दा राहतको महसुस गर्छन् ।
ह्युगो चाभेज र समाजवादको यात्रा
भेनेजुएलाका लोकप्रिय नेता ह्युगो चाभेज सैनिक पृष्ठभूमिका व्यक्ति हुन् । सन् १९९२ मा उनले सत्ता हत्याउन प्रयास गरे पनि सफल भएनन् र जेल परे । दुई वर्ष जेल जीवन बिताए । उनले सन् १९७१ देखि भेनेजुएलाको सेनामा काम गरेका थिए । सन् १९९८ मा नयाँ समाजवादी संविधान दिने बाचासहित उनी राष्ट्रपतिमा निर्वाचित भए । चाभेज सत्तामा पुग्दा भेनेजुएला चरम समस्याबाट ग्रस्त थियो । भेनेजुएलाका सडक आन्दोलनकारीले भरिन्थे । उनले भेनेजुएलाको संविधान, भूमिसुधार, रोजगारी, गरिबी निवारण, छात्रवृत्तिको व्यवस्थालगायत धेरै क्षेत्रमा सुधारको थालनी गरे ।
चाभेज भेनेजुएलाका गरिब जनताका लोकप्रिय नेता थिए । देशका प्राकृतिक संशाधनको राष्ट्रियकरण गरे, दमनको चक्रमा पर्दै आएका आम गरिब जनताको जीवनस्तर सुधारको क्षेत्रमा काम गरे, शिक्षा, स्वास्थ्य, मृत्युदर, कुपोषण जस्ता समस्यासँग जुधेर उनले गरेका सुधारले यो ल्याटिन अमेरिकी देश पारम्परिक हिसाबले अमेरिकाको आर्थिक र राजनीतिक गुलामी अन्त्य गरेर उज्यालो भविष्यतर्फ अघि बढ्यो । सत्तामा आएपछि चाभेजलाई हटाउनेदेखि हत्या गर्नेसम्मका योजना बनाइए । उनलाई सत्ताबाट हटाइयो, गिरफ्तार गरियो तर सडकमा उत्रिएका जनताले असफल पारिदिए ।
अरब वसन्तका नामले चिनिने अरब राष्ट्रभित्रको सत्ता विद्रोहपछि विभिन्न मुलुकहरू अहिले गहिरो द्वन्द्वमा फसेका छन् । लिबिया, सिरिया, यमन जस्ता देशहरू युद्धको भुमरीमा छन् । केही अफ्रिकी मुलुक गहिरो राजनीतिक र जातीय द्वन्द्वमा जकडिएका छन् ।
करिब ४७ घन्टा चलेको यो पूरै घटनाक्रमबारे बनेको डकुमेन्ट्री ‘दि रिभोल्युसन क्यान नट बी टेलिभाइज्ड’मा विस्तारमा पाइन्छ । चाभेजले राजनीतिक, आर्थिक सम्पन्नताबाट अघि बढेर ल्याटिन अमेरिकी देशसहित संसारमा परिवर्तनको सपना देखेका थिए । ल्याटिन अमेरिकी देशमा फैलिएको जागरुकतालाई देखेर समाजशास्त्री एजाज अहमदले विश्वमा अमेरिका नेतृत्वको पहिलो पुँजीवादी शक्ति, रुस–चीन नेतृत्वको दोस्रो शक्तिसहित अमेरिकी साम्राज्यवादलाई टक्कर दिनसक्ने तेस्रो शक्तिशाली रूपमा ल्याटिन अमेरिकी देशहरूलाई वर्णन गरेका थिए ।
आधुनिक लोकतान्त्रिक मूल्यका आधारमा तेस्रो विश्वको अवस्थालाई माथि उकास्ने सपना देख्ने चाभेजको सन् २०१३ मा निधन भएपछि निकोलस मदुरो उनको उत्तराधिकारीको रूपमा भेनेजुएलाको नेतृत्व गरिरहेका छन् । उनको कार्यकालमा देशमा अमेरिका निकट शक्ति हावी हुँदै गएका छन् र बोलिभारियन समाजवादको यात्रामा धक्का लागेको छ ।
कपाल बेच, स्वाभिमान नबेच
यतिबेला भेनेजुएला चरम अभावसँग जुधिरहेको छ । चरम महँगी छ त्यहाँ । मानिस भोकै छन्, बच्चाहरू बिरामी छन् । लाखौँ जनता देशबाटै पलायन भइरहेका छन् । यतिसम्म कि त्यहाँका महिलाहरू आफ्ना आवश्यकता पूरा गर्न आफ्नो लामो कपाल बेच्छन् । सुखी जीवनको खोजीमा देश छाड्न थालेका छन् ।
खानादेखि अत्यावश्यक वस्तु औषधिसम्मको समस्या भएपछि कतिपय करिब ३०० मिटर लामो सिमोन बोलिभार पुलमा पुग्छन् । त्यहाँ पुग्दा उनीहरूसँग दुई वटा विकल्प हुन्छन् । एउटा अत्यावश्यक सामग्रीको आपूर्ति र अर्को देश छाडेर भाग्ने मौका । यी सबै समस्याको सामना गर्दै कि देश छाडेर भाग्ने या देशको संकटसँग जुध्नुको विकल्प पनि छैन ।
देशको यो अवस्था अन्त्यका लागि राष्ट्रपति मदुरो रुस र चीनसँग ऋण मागिरहेका छन्, विपक्षीहरू अमेरिकासँग भीख (अनुदान) मागिरहेका छन् । त्यति मात्रै होइन, उनीहरू अमेरिकी भर्याङ चडेर भेनेजुएलाको सत्तायात्रामा अघि बढ्न खोजिरहेका छन् ।
देशका सारा आर्थिक गतिविधि ठप्प हुनेगरी आन्दोलनमा छन् । उत्पादनका काममा भन्दा जनतालाई सडकमा नचाइरहेका छन् । भेनेजुएलाको अहिलेको आर्थिक संकटलाई नियाल्नेहरू अमेरिका समर्थक विपक्षीको आन्दोलनद्वारा सिर्जित राजनीतिक संकटसँग जोडेर हेर्ने गरेका छन् । विपक्षीहरू निकोलस मदुरो नेतृत्वको सरकार संकटको कारक भएको ठान्छन् । सरकार भने उनीहरूलाई अमेरिकाले अस्थिरता पैदा गर्नका लागि परिचालन गरेको ठान्छ र विपक्षीको आन्दोलनमाथि नियन्त्रणको प्रयास गरिरहेको छ । जसको वरिपरी भेनेजुएलाको राजनीति अल्झिएको छ, जनताले भने यसबाट सिर्जित राजनीतिक र आर्थिक दुवै संकटको सामना गरिरहनुपरेको छ ।
के हो भेनेजुएला संकट ?
भेनेजुएलामा संकट चुलिएसँगै अहिले ३० लाख बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा भेनेजुएला छाडेका राष्ट्रसंघीय शरणार्थी नियोगको तथ्यांक छ । महँगी, ऊर्जा संकट र दैनिक उपभोग्य वस्तुहरूको अभाव चरम उत्कर्षमा पुगेको छ ।
भेनेजुएला विश्वमा हाल रहेका समाजवादी बताउने देशमध्ये एक हो । प्राकृतिक स्रोत साधनमा धनी भए पनि राजनीतिक कारणले आर्थिक अस्थिरता र गरिबीको चपेटामा छ यो देश । अहिले भेनेजुएलामा मुख्यगरी सरकार र विपक्षीबीच तनावको अवस्था देखिए पनि त्यहाँका स्रोत साधन कब्जाका लागि शक्ति राष्ट्रहरूबीचको संघर्ष भेनेजुएलाको वर्तमान संकटको कारक हो । त्यहाँको सरकार र विपक्षी भने तिनै शक्ति राष्ट्रहरूको प्रभावमा परी पक्ष र विपक्षमा उभिएका छन् । भेनेजुएलाको पेट्रोलियम पदार्थमा सबैभन्दा बढी अमेरिकी नजर गढेको छ ।
सरकार निकट मानिने रुस र चीनको लगानी पछिल्लो समय भेनेजुएलामा बढ्दै गएको छ भने अमेरिका वर्तमान मदुरो सरकारको नेतृत्वमा रहेको देशमा निषेधित बन्दै छ । अमेरिका त्यसको रिस पोख्न चाहन्छ । त्यसैले त्यहाँका शक्तिशाली नेता चाभेजको निधनपछि विस्तारै अमेरिकी प्रभाव बढेको देखिन्छ । चौतर्फी संकट बढेपछि राष्ट्रपति मदुरोले रुस र चीनसँग सहयोग मागेका छन् ।
चाभेजले भेनेजुएलामा समाजवादको जग निर्माण गरे तर उनले क्यान्सरलाई जित्न सकेनन् र निधन भयो । त्यसपछि औद्योगिक विकास र आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति हुन सकेन भने सत्ता र पार्टीभित्र भ्रष्टाचार मौलायो । चाभेजले राष्ट्रियकरण गरेका व्यवसायहरूमा जनताको भन्दा शासकको पकड बलियो बन्यो । समाजवाद उन्मुख केही कार्यक्रमहरू लागू गरिए पनि नयाँ तरिकाले सरकार, पार्टी, सत्ताका अरू अंगहरू र सरकारी अर्थतन्त्रमा व्यक्तिगत स्वार्थीहरूको नियन्त्रण बढ्दै गयो ।
तर ती स्वार्थीहरूलाई परास्त गर्ने क्षमता पार्टी र सरकारको नेतृत्वले देखाउन सकेन । परिणाम स्वरूप भेनेजुएलाको अर्थतन्त्र झन् भन्दा झन् धरासायी बन्दै गयो र जनतामा आक्रोश बढ्यो । त्यही आक्रोशलाई उपयोग गर्दै वैदेशिक र विपक्षी शक्तिहरूले भेनेजुएलामा अहिलेको संकट सिर्जना गराएका हुन् ।
सोही मौका छोपेर विपक्षी नेता हुवाँ गुएइदोले आफैँलाई राष्ट्रपति घोषणा गरे । सत्ता प्राप्तिका लागि निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । विश्वमा शक्ति राष्ट्रको इशारामा सत्ता परिवर्तन भएका थुप्रै उदाहरण छन् तर सत्ता परिवर्तनपछि देशको नेतृत्व कसरी गर्ने भन्नेचाहिँ महत्त्वपूर्ण हो ।
देशका समस्या समाधान गर्न गरिबलाई छाना र खाना, रोगीलाई ओखती, असमझदारीका विषयमा सरकारसँग वार्ता आवश्यक छ । देशको संकटको हल गर्न सरकारले बन्दुकको सहारा र विपक्षीले विदेशीको सहारा लिँदा देशमा स्थिरता होइन, अधोगतिको यात्रा सुरु हुन्छ । भेनेजुएलाको यो द्वन्द्वमा सरकार सैनिकको साथले बलियो छ भने विपक्षी विदेशीको शक्तिसहित सडकमा छन्, जसबाट आमजनता नै प्रताडित भइरहेका छन् ।
अरब वसन्तका नामले चिनिने अरब राष्ट्रभित्रको सत्ता विद्रोहपछि विभिन्न मुलुकहरू अहिले गहिरो द्वन्द्वमा फसेका छन् । लिबिया, सिरिया, यमन जस्ता देशहरू युद्धको भुमरीमा छन् । केही अफ्रिकी मुलुक गहिरो राजनीतिक र जातीय द्वन्द्वमा जकडिएका छन् । देशलाई विदेशी खेल मैदान बनाउँदा देशमा स्थिरता होइन, दीर्घकालीन द्वन्द्वको बिउ रोपिने खतरा हुन्छ । जनताका आवश्यकताको सम्बोधन गर्दै विदेशी हस्तक्षेप रोक्ने र देशभित्रै रहेको राजनीतिक व्यवस्था वा त्यो व्यवस्था नै परिवर्तन पनि राष्ट्रिय शक्ति मिलेर गर्नुपर्छ । देशलाई विदेशीको क्रीडास्थल बनाएर निकास निस्कँदैन । जनताले पेटका लागि केस बेच्ने र नेताले पेटको देश बन्धकी राख्ने अवस्था दुःखद हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६