‘संसार बदल्नु छ, सुरु आफैँबाट गरौँ ।’ आफैँ नबदलिने हो भने अरूलाई बदल्छु भन्नु खोक्रो आदर्श हो । राजनीतिक, सामाजिक र सांस्कृतिक अभियन्ताहरूको हकमा पनि यो लागू हुन्छ । राजनीतिक, सामाजिक परिवर्तनका अभियन्ता मानिने राजनीतिक दलका हकमा त झन् यो अपवाद बन्नै सक्दैन ।
सन्दर्भ, कांग्रेसले सुरु गर्न लागेको जागरण अभियानको हो । सरकारविरुद्ध जनता जगाउने उद्देश्य अभियानको छ । तर के आफैँ नजागेको कांग्रेसले कम्युनिष्टमय देशमा दुई तिहाईको बलियो सरकारविरुद्ध जनता जगाउन सक्ला ? आफैँ निद्रामा मस्त कांग्रेसले अरूलाई जगाउन सक्दैन । त्यसका लागि पहिला आफैँ जाग्नुपर्छ । कार्यकर्ता तह सोधिरहेको छ- पार्टी डुब्दा पनि गुटगत लडाइँमै मस्त रहेको कांग्रेसले कसरी जनता जगाउन सक्छ ?
देश दौडामा कुद्न लाग्दा जुत्तामा पसेको गुट उपगुट र आन्तरिक मतभेदको काँडा कायमै राख्दासम्म कांग्रेसको जागरण दौडले ‘ट्रफी’ नउचाल्ने निश्चित छ । घरझगडा नमिलाईकन बलियो प्रतिस्पर्धीलाई पछार्ने सपनाले आकार पाउन ठूलै आश्चर्य हुनुपर्छ ।
विडम्बना, सरकार अलोकप्रिय हुँदा पनि प्रतिपक्षी कांग्रेसतर्फ नागरिकको विश्वास देखिएको छैन । कसैप्रति वितृष्णा मात्र आफूप्रतिको आकर्षण हुन सक्दैन । अझ पार्टीभित्र संस्थापनइतर समूह आक्रामक, सभापति स्वयं रक्षात्मक अवस्थामा छन् । पार्टीभित्रै रक्षात्मक अवस्थामा रहेको कमाण्डरको नेतृत्वमा कुन मनोबलका साथ अघि बढ्ला जागरण ? चासो र चिन्ता छ कांग्रेसजनको ।
नेपाली राजनीतिमा कांग्रेससँग जागरण, कम्युनिष्टसँग विद्रोह धेरै प्रयोग हुने जार्गन हुन् । जबजब कांग्रेसले निर्वाचनमा पराजय व्यहोर्छ, जागरण अभियान चलाउने गर्छ । विगतमा त्यस्ता अभियानले परिणाम पनि ल्यायो । २०६४ को पराजयपछि गिरिजाप्रसाद कोइराला देश दौडाहामा निस्किए । सरकारविरुद्ध जनतालाई जागृत हुन आह्वान गरे । उनको व्यक्तित्वका अघि त्यतिबेलाका प्रचण्ड, माधव नेपाल, केपी ओलीहरू लिलिपुट थिए । कोइरालाको ‘टावर पर्सनालिटी’को ‘ड्यासिङ’ले किनारामा पुगेको कांग्रेसलाई २०७० मा आइपुग्दा नेतृत्वमा स्थापित गरिदियो ।
त्यही जगमा कांग्रेसका सभापतिहरू सुशील कोइराला र शेरबहादुर देउवा दुवैले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । अहिले कांग्रेस आफ्नो त्यही इतिहासले रोमाञ्चित छ तर उसले बुझ्नुपर्छ- इतिहास त्यही रूपमा सहजै दोहोरिँदैन । बाजेले घीउ खाएका थिए, मेरो हात सुँघ भनेर अब जनताले पत्याउने अवस्था छैन । अहिलेसम्म कांग्रेस इतिहासको ब्याज खाएर बाँच्यो । अब बाँच्ने आफ्नै कर्ममा हो । नेतृत्वले यो कुरा मनन् गर्न सक्नुपर्छ ।
राजनीतिक अवस्था बदलिएको छ । कांग्रेससँग न अहिले गिरिजाप्रसाद कोइराला छन्, न त उनको छेउछाउसम्म तुलना गर्न मिल्ने नेतृत्व नै छ । संसदीय व्यवस्थामा विरलै हुने प्रतिपक्ष भएर पनि रक्षात्मक अवस्थामा छ कांग्रेस । संसदमा सत्तारुढ दल आक्रामक, बाहिर सरकार आक्रामक । प्रतिरक्षात्मक छ कांग्रेस ।
प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको प्रचण्ड प्रहार लाचार भएर सहन विवश छ कांग्रेस । दुई तिहाईको कम्युनिष्ट सरकार, तुलनात्मक रूपमा कांग्रेसको मूल नेतृत्वभन्दा प्रभावशाली, पत्याइएको नेकपाको मूल नेतृत्व छ । वीपीदेखि सुशील कोइरालासम्म आइपुग्दा सधैँ कांग्रेसको मूल नेतृत्वको राजनीतिक उचाइ र व्यक्तिगत प्रभाव कम्युनिष्ट नेताहरूको भन्दा उँचो थियो । कांग्रेस नेताको व्यक्तित्वको उचाइले पनि नेपालका कम्युनिष्टहरू थिचिएका थिए ।
आज अवस्था बदलिएको छ । साढे सात दशकपछि अवस्था ठीक विपरीत भएको छ । वाइडबडी खरिद घोटाला, निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारकै जग्गा बिक्री प्रकरणसम्म आइपुग्दा ओली ओजमा ग्रहण लागेको छ । विडम्बना, सरकार अलोकप्रिय हुँदा पनि प्रतिपक्षी कांग्रेसतर्फ नागरिकको विश्वास देखिएको छैन । कसैप्रति वितृष्णा मात्र आफूप्रतिको आकर्षण हुन सक्दैन । अझ पार्टीभित्र संस्थापनइतर समूह आक्रामक, सभापति स्वयं रक्षात्मक अवस्थामा छन् । पार्टीभित्रै रक्षात्मक अवस्थामा रहेको कमाण्डरको नेतृत्वमा कुन मनोबलका साथ अघि बढ्ला जागरण ? चासो र चिन्ता छ कांग्रेसजनको ।
पसिना गह्नाउने, आफ्नो श्रममा बाँच्ने स्वाभिमानी किसानभन्दा अत्तर बास्ना आउने, घरमा चाकडी बजाउने, तस्करी, दलाली र भ्रष्टाचारीको घेरामा रमाइरहने प्रवृत्तिले कांग्रेसको जनतासँगको संवाद टुटेको छ । जागरण अभियान जनतासँग टुटेको सम्बन्ध जोड्न उपयोगी हुनसक्छ तर त्यसका लागि आफैँभित्र नयाँ जागरण ल्याउन तयार छ कांग्रेस ?
सत्ताप्रति नागरिकमा उत्पन्न अविश्वासलाई आफूसँग विश्वासमा बदल्न सक्ने नेतृत्व अहिले कांग्रेसलाई चाहिएको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला कसैप्रति जनताले आशाको नजरले हेरिरहेका छैनन् । कांग्रेसले आफूलाई रूपान्तरण नगर्ने हो भने जनताको विश्वास प्राप्त गर्नसक्दैन । आजको विश्व सुहाउँदो चिन्तन, चेतना, विचार, कार्यशैलीको विकास अहिले कांग्रेसमा अपरिहार्य बनेको छ । डनवाद, धनवाद, नातावाद, कृपावादबाट कांग्रेसलाई नजोगाउने हो भने गर्विलो इतिहास भएको एउटा पार्टीलाई प्रजा परिषद् वा कोमिन्ताङ बन्नबाट कसैले रोक्न सक्दैन ।
जनताको विश्वास गुमाइसकेको वर्तमान नेतृत्वप्रति नागरिक तहमा कुनै रुचि छैन । यो कांग्रेसका लागि डरलाग्दो परिदृश्य हो । अहिले जसरी कांग्रेस चल्दै छ, कार्यकर्ताहरू निराश छन् । गुट जरैसम्म संस्थागत छ । शीर्ष नेतृत्व विभाजित छ । कार्यकर्ता मात्रै उठेर पुग्दैन । नागरिकलाई अपिल गर्न सक्ने व्यक्तित्वको कांग्रेसभित्र अभाव छ । आफैँभित्र जाग्ने जाँगर छैन । गुटभन्दा माथि उठ्ने साहस छैन । नाता र दाताभन्दा पर नेतृत्वको दृष्टि छैन । यस्तो धरातलीय यथार्थमा चिन्तनको कुनै गुञ्जायस छैन कांग्रेसमा ।
एकोहोरो जागरण भनेर मात्र कसरी जागरण आउँछ ? बरु जागरणको आवरणमा पार्टीभित्रको विवाद तल्लो तहसम्म छताछुल्ल हुने हो कि भन्ने चिन्ता व्याप्त छ । चुनावी मौसमबाहेक अरू बेलामा जनताका सुख दु:खभन्दा शहर बजारका सुखद बसाइ प्यारो लाग्ने । पसिना गह्नाउने, आफ्नो श्रममा बाँच्ने स्वाभिमानी किसानभन्दा अत्तर बास्ना आउने, घरमा चाकडी बजाउने, तस्करी, दलाली र भ्रष्टाचारीको घेरामा रमाइरहने प्रवृत्तिले कांग्रेसको जनतासँगको संवाद टुटेको छ । जागरण अभियान जनतासँग टुटेको सम्बन्ध जोड्न उपयोगी हुनसक्छ तर त्यसका लागि आफैँभित्र नयाँ जागरण ल्याउन तयार छ कांग्रेस ?
संसार बदल्छु भन्नेहरू आफैँ बदलिएका उदाहरण संसारभर छन् । पछिल्लो घरेलु उदाहरण तत्कालीन माओवादी नै छ । एक दशक परिवर्तनको नारा दिएर जंगलबाट शहर पसेसँगै देश र समाजको मुहार होइन, आफ्नै जीवनशैली मात्र फेर्दा अन्ततः माओवादी आन्दोलनले उत्पन्न गरेको राप र ताप एकाएक स्खलित भयो । २००७ सालको क्रान्ति र २०४६ सालको परिवर्तनको ब्याज खाइरहेको कांग्रेस, झापा विद्रोह र २०४६ सालको आन्दोलनको ब्याज खाइरहेको तत्कालीन एमाले (हालको नेकपा) र उसकै भाषाको जनयुद्धको स्याज उठाइरहेको माओवादी आन्दोलन पुरानै संसदीय भासमा विलय भयो ।
जागरण भनिरहँदा एक पटक कांग्रेसको मूल नेतृत्वदेखि गाउँको सामान्य कार्यकर्तासम्मले आफैँभित्र विश्वासको, एकताको जागरण ल्याउन सक्नुपर्छ । हारको मनोविज्ञानले मैदान प्रवेश गरेको सिपाहीले युद्ध जित्न सक्दैन । कांग्रेसले कम्युनिष्ट अतिवाद र सर्वसत्तावादी सोचलाई नंग्याउने भनिरहँदा आफूभित्रको कमजोरीलाई सच्याउन सक्नुपर्छ ।
आफैँभित्र बलियो एकता कायम गर्न सक्नुपर्छ । भातृसंस्था लथालिंग बनाएर, पार्टीका विभागहरू रित्तो राखेर, निर्वाचनमा अन्तरघातका उजुरी सानेपामा थन्काएर, आन्तरिक मतभेदको चिरा कायमै राखेर त कसरी पो जागरण होला ? जस्तोसुकै प्रतिकूलतामा पनि पार्टीप्रति समर्पित इमान्दार कांग्रेस कार्यकर्ताहरूलाई यो प्रश्न खड्किरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६