काठमाडौं : जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । गोरखाको पालुङटार नगरपालिका–४ कुमाल गाउँमा जन्ती पक्षले केटी जिस्क्याएको भन्दै जन्ती र बेहुली पक्षबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको हो ।
कुटाकुटबाट घाइते बेहुला पक्षका लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । झडपमा अर्का एक जना घाइते भएका छन् ।
पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिब दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।
ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६