काठमाडौं : ‘सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९’ मा सगरमाथा आरोही र आरोहण दलले पनि सहयोग गर्ने भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङदोर्जे शेर्पा र नेपाली सेनाका अधिकृत स्तरका कर्मचारीको उपस्थितिमा सगरमाथा आधार शिविरमा बसेको बैठकमा उक्त सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
सगरमाथा आरोहणका लागि ३३ आरोहण दल रहेका सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । आरोहण दलका सहयोगी तथा हाई अल्टिच्युड पोर्टरहरू विभिन्न सामग्री पुर्याउने सगरमाथाको साउथकोलसम्म जाने र फर्किंदा ‘सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९’ का कामदारले संकलन गरेको फोहोर सगरमाथा आधार शिविरसम्म ल्याउने भएका हुन् ।
माथि जाँदा खाद्यान्न, ग्यासलगायतका सामग्री लैजाने तथा फर्किंदा रित्तै फर्किने भएकाले आउँदा हाई अल्टिच्युड पोर्टरहरूले संकलित फोहोर ल्याउन सहमत भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार उनीहरूले सामग्री ल्याएर आधार शिविरमा बुझाउनुपर्छ भने फोहोर ल्याएवापत चलनचल्तीको दरअनुसार ज्याला उनीहरूले पाउनेछन् ।
नेपाली सेना र आयोजक टोलीका कर्मचारीले फोहोर संकलन क्याम्प खडा गरी फोहोरको वर्गीकरण गर्ने नेपाली सेनाले जनाएको छ । संकलन गरिएको फोहोरलाई जलाउन मिल्ने र नमिल्ने गरी वर्गीकरण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । जलाउन मिल्नेजति फाहोर नाम्चे ल्याएर व्यवस्थापन गरिने तथा नमिल्नेजति फोहोरलाई काठमाडौं लगिनेछ ।
सगरमाथा क्लिनिङ क्याम्पेन, २०१९ को आयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाली सेना, प्रदेश १, सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाल पर्वतारोहण संघलगायतले गरेका छन् भने विश्व वन्यजन्तु क्षेत्र, कोकाकोला, तारा एयर, प्रभु बैंक, एनएमबी बैंक, नबिल बैंकलगायतले प्रायोजन गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६