रसुवा : भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयबासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् ।
नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङमो घलेका अनुसार स्थानीय तहको निर्वाचनपश्चात् विकट स्थानका बासिन्दालाई यातायातको पहुँच पुर्याउन गाउँका बस्तीबस्तीमा हालसम्म ७० किमी सडकको ट्रयाक खोल्ने काम पूरा भइसकेको छ । यसरी मोटरबाटो निर्माण भएका गाउँमा यार्सा, पारच्याङ, गाङदर, पाटिखर्क, दनुस्वारा, लाङवु, घोर्मु, खाल्चेत, चिती, भोर्ले, गुइसाङलगायत दर्जनौँ गाउँ रहेको बताइएको छ ।
विकासको पहिलो मेरुदण्ड सडक भएका कारण दूरका विकट गाउँबासीलाई डोको–नाम्लोबाट मुक्त गर्न स्थानीय तहले सडक निर्माणलाई पहिलो प्राथमिकता दिई करिब चार करोेड रूपैयाँको लागतमा ७० किमी सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरिसकिएको र अहिले गाउँबासी मोटरबाटै आवतजावत गर्न थालिसकेको नौकुण्ड गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए ।
पहिलो चरणमा निर्माण भएको मोटरबाटो हिउँदे भए पनि नियमित सञ्चालन गर्न सडकका भागमा पर्ने पक्की पुल निर्माणको प्रक्रियासमेत अगाडि बढिसकेको छ । पुङखोला, फलाखु खोला, वासभञ्ज्याङ, दुनुस्वारा र साङ्गाचौरमा पक्की पुल निर्माणका लागि डिपिआर तयार भइसकेको गाउँपालिकाले जनाएको छ । जनतामाझ दिनुपर्ने विविध सेवालाई समेत निरन्तरता दिँदै सडक मार्गलाई पहिलो प्राथमिकतामा राखी निर्माण गरिएको गाउँले सडक हिउँद वर्षायाममा निर्बाधरूपमा सञ्चालन गराउन पक्की पुलका साथै कालोपत्र समेतको कार्ययोजना तयार भइसकेको समेत अध्यक्ष घलेले बताए ।
डोको–नाम्लो प्रयोग गरी उकाली ओराली गर्ने यार्सा क्षेत्रका बासिन्दाले आफ्नो गाउँबाट सवारी साधनमा यात्रा गर्न सुरु गर्नाका साथै कतिपय युवापंक्तिले ट्रक तथा मोटरसाइकल समेत खरिद गरिसकेको लाङवु गाउँका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिए ।
काठमाडौँबाट नुवाकोटको त्रिशूली, वेत्रावती, आमभञ्ज्याङ, धुसेनी, भोर्ले हँुदै यार्सा क्षेत्रका नियमित बस गुड्न थालेपछि विगतमा भारी बोकाइबाट थकित स्थानीयवासी मोटर चढ्न थालेको पाटिखर्कका समाजसेवी रेशमबहादुर न्यौपानेले बताए ।
अहिले यार्सा तथा सरमथली क्षेत्रमा जान नुवाकोटको विदुर, नुवाकोट दरबार, चोगदे, लच्याङ हँुदै सरमथलीको पाटिखर्क र रसुवाको पासाङल्हामु राजमार्गबाट उत्तरगया क्षेत्रअन्तर्गत आमभञ्ज्याङ धुसेनी भोर्ले तथा अर्को मार्ग कालिका गाउँपालिकाको स्याउवारी लोकिल दोक्लाङ हुँदै यार्सा पुग्न सकिने वातावरण तयार भइसकेको स्थानीयवासीले जानकारी दिएका छन् । यार्सा क्षेत्रमा निर्माण भएको गाउँले सडकले १० हजारभन्दा बढी स्थानीयवासीलाई सुविधा पुगेको बताइएको छ ।
यसैगरी विद्यालयको नियमित पठनपाठनलाई थप गुणस्तरीय बनाउन पाँच मावि र दुई निमाविलाई एक÷एक जना शिक्षक व्यवस्था गरेको, प्रत्येक बालबालिकालाई विद्यालय पढाउन जागरण बढाइएको, सरसफाइ र वातावरण संरक्षणमा जागरण ल्याएको, ठूलो भोर्लेबाहेक एक दर्जनभन्दा बढी गाउँमा शुद्ध खानेपानीको व्यवस्था भइसकेको बताइएको छ ।
कुनै पनि रोगको लक्षण देख्नासाथ नजिकको स्वास्थ्य संस्था जाने वातावरणको विकास हँुदै गएको, अपरझट रूपमा हुने सामान्य प्रकृतिका झगडा स्थानीयस्तरमै मेलमिलाप गर्ने जागरण बढाउँदै समृद्ध र समुन्नत नौकुण्ड गाउँपालिका बनाउने प्रयास निरन्तर भइरहेको पनि अध्यक्ष घलेले बताए ।
सवारी साधन पुरानै राजमार्गमा गुड्न थाले
ठाडोखोलामा पानीको बहाव बढेपछि नेपाल र केरुङ सामान आयातनिर्यात गर्ने ट्रक कन्टेनर साबिककै राजमार्गबाट गुड्न थालेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार स्याफ्रु–मैलुङखण्डको नयाँ सडकअन्तर्गत धुञ्चे त्रिशूलीको ठाडोखोलामा पुल निर्माण हुन बाँकी रहेको र सडक सतहमा पानीको बहाव बढ्न गएका कारण जोखिम न्यूनीकरणका लागि धुञ्चेतर्फको राजमार्गबाट सवारी साधन ओहोरदोहोर हुन थालेको हो ।
हिमालमा हिउँ पग्लिने क्रमसँगै खोलामा पानीको बहाव ह्वात्तै बढ्न जाँदा मालवाहक कन्टेनर पल्टिन थालेको, मोटरसाइकल डुब्ने सम्भावना बढेको, जीप तथा कारको साइलेनसर पाइपमा पानी पस्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । विगतको तुलनामा यस वर्ष रसुवाको भूभागमा भारी मात्रामा हिउँ परेकाले जलाशयमा पानीको बहाव निरन्तर चल्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् । –रासस
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६