विराटनगर : बुधबार सहमतिमा नपुगी स्थगित भएको सत्तारुढ नेकपाको बैठक बिहीबार बिहान सुरु भएको छ । प्रदेश १ को नाम र राजधानी टुंगोमा पुर्याउन सत्तारुढ नेकपाको बैठक पुनः सुरु भएको हो ।
विराटनगरको होटल बिगमा जारी बैठकमा नेकपा प्रदेश १ का कमिटी इन्चार्ज भीम अचार्य, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव सुरेश राई, संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई उपस्थित छन् । अहिले पहिलो चरणमा उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका प्रदेश सांसदसँग छलफल केन्द्रित छ ।
बैठकमा मोरङ प्रदेश सांसदहरू पनि सहभागी रहेको मुख्यमन्त्री राईको प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए । यो चरणको बैठक सकिएपश्चात मेची र कोसी अञ्चलका थप सांसदसँग छलफल हुने छ । उनीहरूसँग नाम र राजधानीको विषयमा राय लिइने छ ।
नेकपा सम्बद्ध सांसदहरूसँगको छलफलपछि सर्वदलीय बैठक बस्ने छ । सो बैठकमा विपक्षी दलका संसदीय दलका नेता र प्रमुख सचेतकसँग छलफल हुने छ । पहिले नेकपाको धारणा बनाएर अन्य पार्टीको राय लिने तयारी भएको बुधबारको बैठकपछि मुख्यमन्त्री शेरधन राईले जानकारी दिएका थिए ।
प्रदेशसभा सचिवालयले प्रदेश १ को स्थायी नाम र राजधानी तोक्न बिहीबारसम्म प्रस्ताव दर्ता गर्न आह्वान गर्दै सूचना प्रकाशन गरिसकेको छ । सरकारले हालै सुनसरी र मोरङका १८ वटा पालिकालाई समेटेर वृहत विराट क्षेत्रको अवधारणासहितको ऐन बनाएको छ । यही क्षेत्रको कुनै एक ठाउँमा स्याटलाइट शहरको रूपमा विकास गरेर राजधानीका संरचना खडा गरिने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६