काठमाडौं : साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत इजरायलका विभिन्न पाँचवटा कृषि क्याम्पस र तालिम केन्द्रहरूमा सन् २०१९/०२० मा संचालन हुने १० महिने कृषि प्रशिक्षण कार्यक्रमका लागि इजरायली राजदूताबासले साना किसान लघुवित्त संस्थालाई ४७८ कोटा प्रदान गरेको छ ।
नेपालभर रहेका योग्य साना किसान कृषि सहकारी संस्थाहरूले पारदर्शी प्रकृया अपनाएर उक्त कोटाका लागि प्रत्यासीहरू छनोट गर्छन् । सहकारीले छनोट गरेका प्रत्यासीहरूमध्येबाट राजदूताबासका पदाधिकारी एवम् इजरायली कलेजका प्रतिनिधिसहित सम्पूर्णको उपस्थितिमा गोला गरिन्छ । गोलामा छानिएका प्रत्यासीहरूलाई इजरायली प्रतिनिधिहरूले अन्तर्वार्ता लिन्छन् । अन्तर्वार्तामा उत्तीर्णहरू यस कार्यक्रममा छानिएकाहरू मेडिकललगयतका अन्य कागजात पूरा गरी बढीमा ११ महिनाका लागि इजरायल जान पाउँछन् ।
यो छात्रवृत्ति कार्यक्रम होइन । यस कार्यक्रममा सहजीकरण गरिदिएवापत कसैलाई कुनै शुल्क बुझाउनुपर्दैन । यदि कसैले कुनै पनि किसिमको रकम माग गरेमा साना किसान लघुवित्त संस्था ‘साना किसान विकास बैंक’लाई खबर गर्न उपकार्यकारी निर्देशक झलेन्द्र भट्टराईले जानकारी दिए । तर पासपोर्ट, मेडिकल, पुलिस रिपोर्ट, भ्याक्सिनेसन, आतेजाते हवाई टिकट, लत्ताकपडा, आवास, कलेज फी आदि प्रशिक्षार्थी आफैँले सम्बन्धित निकाय संस्थाहरूको नियमाअनुसार सम्बन्धित कार्यालयमा नै बुझाउनुपर्ने उनी बताउँछन् ।
इजरायलका सम्बन्धित तालिम केन्द्र कलेजहरूले हप्ताको एक दिन पूरै समय कलेजमा कृषि अध्ययन गर्नुपर्नेछ । हप्ताको पाँच दिन कृषि फिल्डमा प्रयोगात्मक कार्य गर्नुपर्नेछ । यो कार्य गरेवापत इजरायली नियमअनुसारको पारिश्रमिकसमेत प्रशिक्षार्थीले प्राप्त गर्नेछन् ।
छनोट भएका प्रत्येक प्रशिक्षार्थीले सुरक्षणवापत जनही १४ लाख रुपैयाँ बराबरको धन जमानी गर्नुपर्नेछ भने एक लाख रुपैयाँ नगद धरौटी राख्नुपर्ने प्रावधान छ । ११ महिनामा प्रशिक्षण पूरा गरी फर्केपछि सम्पूर्ण धितो फिर्ता हुनेछ भने धरौटी रकम तोकिएको व्याजसहित फिर्ता हुनेछ ।
यस वर्षको छनोटको कार्यक्रम मिति २०७६ वैशाख १६ गते काठमाडौंबाट सुरु भएको छ । कार्यक्रममा इजरायलका राजदूत बेनी ओमेर र डेपुटी कमिसनर अफ मिसन मि ताल, साना किसान लघुवित्तका अध्यक्ष खेमबहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालालगायतले गोला तानेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६