काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यु–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।
मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो । एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडेमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ ।
छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडेमीमा राखेर पढाइका साथै फुटबल प्रशिक्षण दिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । यसै छनोटबाट आएका यु–१६ खेलाडीले एसियाली फुटबल महासङ्घ (एएफसी) यु–१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।
छनोट हुने खेलाडीमा विक्रम गौतम, विजयराज शाही, विश्वास ओझा, दीपक थापामगर, विपीन थापा, अनिल खड्का, अजय लामा, मनोज खुलाल, सुमन भेटवाल, रोनिक रानामगर, सुजल घलेलगायत ८१ जना रहेका छन् ।