काबुल : अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरूबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदै छ ।
तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताए । हालैका महिनाहरूमा दुवै पक्षबीच छ चरणको वार्ता भइसकेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिएका हुन् ।
काबुलस्थित अमेरिकी राजदूताबासले उक्त वार्ताका बारेमा कुनै टिप्पणी गरेको छैन तर अमेरिकी विदेश मन्त्रालयले यसअघि नै अफगानिस्तानका लागि विशेष दूत जाल्मे खलिलजाद यसै महिना तालिबानसँग भेटघाट गर्न जाने बताइसकेको छ ।
अफगानिस्तानका लागि पूर्व अमेरिकी राजदूतसमेत रहिसकेका खलिलजादले अफगान शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन पहल गरिरहेका छन् । आइतबार वासिङ्टन डीसीमा कुरा गर्दै खलिलजादले अफगान युद्धमा वार्षिक ४५ अर्ब अमेरिकी डलर खर्च भइरहेको जानकारी दिए ।
अमेरिकी करदाताको यत्रो रकम सैनिक प्रयोजनमा खर्च गरिरहनु ठीक होइन , उनले भने । सन् २००१ यता मात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसकेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् ।