काठमाडौं : दुई नेपाली किशोर क्रिकेटरले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि ‘आइरन गेट’ पार गर्ने अवसर छाडेका छन् ।
२०७५ को एसइईमा देशभरिका चार लाख ७५ हजार बढी विद्यार्थीले परीक्षा दिँदै गर्दा सप्तरीका रोहन दूधराज बिक र प्रशान्त सिंहले परीक्षा नै त्यागेर देशका लागि खेलेका छन् ।
राजविराजको मेक्सल बोर्डिङ स्कुलका रोहन र राजविराजकै दुर्गा माध्यमिक विद्यालयका प्रशान्तका अगाडि दुई बाटोमध्ये देशको प्रतिष्ठा रोजेर उनीहरु एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट छनोटका लागि काठमाडौं आएर प्रतियोगिताका लागि थाइल्याण्ड गए ।
उनीहरुले प्रतियोगितामा जिम्मेवारीअनुसार सशक्त प्रदर्शन पनि गरे । नेपालले यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जित्यो । एसइई छाडेर खेल्न गएका रोहन र प्रशान्तसँगै नेपाली टोलीले उपाधि लिएर देश फर्किएका छन् ।
एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता गर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भयो । एसईई परीक्षा सहभागी हुनेहरूलाई समेत सहज बनोस् भनेर एसईईपछि छनोट प्रतियोगिताको मिति तय गरिएको थियो ।
तर प्रदेश २ मा चारवटा विषयको परीक्षा बाँकी हुँदा प्रश्नपत्र आउट भएपछि बाँकी परीक्षा रोकियो । परीक्षाको अर्काे मिति तय हुँदा रोहन र प्रशान्तले परिक्षा दिन नपाएको उनीहरूको भनाई छ ।
परीक्षा त्याग्दा रोहन र प्रशान्तलाई दुःख लागेको थियो । उनीहरुका अभिभावक समेत दुःखी थिए । तर, थाइल्याण्डबाट उपाधि जितेर फर्कदा परीक्षा दिन नपाएको पीडा हटेको उनीहरु बताउछन् ।
विकेट किपर ब्याट्सम्यान रोहनले प्रतियोगिताका चार खेलमा अवसर पाए । लोयर अर्डरमा ब्याटिङ गरेका उनले ३८ रन जोडे ।
यस्तै, बलिङ अलराउन्डर प्रशान्तले भने प्रतियोगिताको एक मात्रै खेलमा अवसर पाए । जसमा ६ रन जोड्दै ३.२ ओभर बलिङ गरेको प्रशान्तले एक विकेट पनि लिएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६