काठमाडाैं : दुःखीलाई पीरमाथि पीरैपीर भने जस्तै । १२ वर्षकै कलिलो उमेरमा छोरीको दुवै मिर्गौला फेल ! १० वर्षे छोराको एपेन्डिक्सको अपरेसन ! सुन्दै अपत्यारिलो र आङै जिरिंग पार्ने खबर ।
तर सत्य यही हो कि म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट स्थायी घर भएर अहिले पोखरा महानगरपालिका पोखरा बस्दै आएका वीरबहादुर (विमल) र सीता पुनकी १२ वर्षीया छोरी कल्पनाका दुवै मिर्गौलामा समस्या देखापर्यो । पोखरा–३३ भरतपोखरीमा अस्थायी बसोबास गर्दै दैनिक मजदुरीबाट जीविकोपार्जन गर्ने पुन दम्पत्तिलाई यतिखेर छोरीको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।
छोरीको उपचारको चिन्ता त छँदै थियो । त्यसमाथि १० वर्षे छोरा विपीनलाई हिजो एक्कासी पेट दुख्यो । हतार हतार गण्डकी अस्पताल लिएर गए, वीरबहादुरले । अस्पतालमा जाँच गरेपछि थाहा भयो, उनका छोरालाई एपेन्डिसाइटिस भएको रहेछ । अहिले उनको एपेन्डिसाइटिसको अपरेसनको तयारी भइरहेको छ ।
‘छोरीको उपचारमा अहिलेसम्म १० लाख जति खर्च लागिसक्यो, यही पनि ऋणधन तथा आफन्तको सहयोगबाट गरेका हौं’, आजकाे न्युजसँग कुरा गर्दै वीरबहादुरले भने, ‘खै डाक्टरले सम्पूर्ण उपचार गर्न अझै २५ लाखभन्दा बढी लाग्ने भनेका छन्, उपचार खर्च कसरी जुटाउने हो हामी निकै अन्योलमा छौँ ।’
चिकित्सकले आफन्तबाट नै मिर्गाैला प्रत्यारोपण गर्न पाएमा भने केही खर्च कम लाग्ने भनेको उनले सुनाए । अचानक कल्पनाको स्वास्थ्यमा समस्या आएपछि पुन दम्पत्तिले काठमाडौंस्थित किस्ट अस्पतालमा झण्डै दुई महिना उपचार गराएका थिए । उक्त क्रममा नै दुवै मिर्गौला खराब भएको थाहा भएको थियो ।
सामान्य मजदुरी गर्दै आएको आफ्नोे परिवारमा छोरीलाई अत्यधिक खर्चिलो रोगले च्यापेपछि रातदिन उपचारकै कुराले पिरोलिरहेको उनले दुखेसो गरे । असल मन भएकाहरूको सहयोग पाएमा आफूलाई छोरी बचाउन सकिने आशा रहेको बताउँदै वीरबहादुरले सहयोगदातालाई आफ्नो मोबाइल ९८२५१४२१२० मा सम्पर्क गरेर वा आफ्नै नाममा रहेको मुक्तिनाथ विकास बैंकको ००५२१६००३६५१९००००००१ नम्बरको खातामा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
कल्पना पोखरा महानगरपालिका–३३ भरतपोखरीको कालिकास्थानस्थित सरस्वती टीका माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन् । उनका दुई दिदी र एक भाइ पनि सोही विद्यालयमै पढ्छन् । उनको पोखरास्थित गण्डकी अस्पतालको मेडिकल वार्डको ४ नम्बर बेडमा उपचार भइरहेको छ ।
कल्पनाका दुवै मिर्गाैलामा समस्या आई उपचार गरिरहँदा उनका साथीभाइका साथै समग्र विद्यालय परिवार पनि यतिखेर चिन्तामा छ । उपचारमा केही भए पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथा विद्यार्थीको सहयोगमा संकलित २८ हजार रुपैयाँ मंगलबार नै विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्ले र सहायक प्रधानाध्यापक श्रीधर आचार्यले अस्पतालमा नै पुगी उनका बुबा वीरबहादुरलाई हस्तान्तरण गरे ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६