कठमाडौं : नेपालमा धेरै हिमालहरू छन् तर हाई अल्टिच्युड माउन्टेन गाइड नहुँदा अरू देशका गाइडको भर पर्नुपरेको छ भने योग्यता नपुगेकाले जोखिम मोलेर आरोहण गराउँदै आएका छन् ।
यस स्प्रिङ सिजनमा मात्र ८२२ पर्वतारोही हिमाल आरोहणका लागि शिखरतर्फ गइरहेका छन् । हरेक आरोहीले एकदेखि दुई सहयोगी लैजाने गरेका छन् । इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसिएसनको नियमअनुसारका नेपालमा ६० जना मात्र हाई अल्टिच्युट माउन्टेन गाइड रहेका नेपाल राष्ट्रिय पर्वतारोहण तथा पथप्रर्दशक संघका प्रशासकीय अधिकृत सोवित कुँवरले बताए । यस तथ्याङ्कअनुसार योग्य हिमाल आरोहण सहयोगी ६० जना मात्र हुनआउँछ ।
नेपालको पर्वतारोहणका लागि धेरैजसो आरोहीले आफ्नै देशका हाई अल्टिच्युड माउन्टेन गाइड ल्याउने गरेको नेपाल पर्वतारोहण संघले जनाएको छ । साथै वार्षिक ८०० को हाराहारीमा हाई अल्टिच्युड माउन्टेन गाइड आवश्यक भए पनि त्यो संख्या नहुँदा अन्य गाइडहरूले जोखिम मोलेर काम गरिरहेका छन् ।
पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाका अनुसार अन्य देशका पर्यटकहरू आरोहण दलभित्र आउँदा हाई अल्टिच्युड माउन्टेन गाइडको रूपमा नभई आरोहीकै लिस्टमा आउने भएकाले कति हाई अल्टिच्युड माउन्टेन गाइड आउँछन् भन्ने छुट्टै तथ्याङ्क राखिएको छैन ।
हाई अल्टिच्युड माउन्टेन गाइड बन्नका लागि आधारभूत तहको तालिम, कम्तीमा चारवटा हिमाल आरोहण, सात हजार मिटरमाथिका हिमालको क्याम्प दुईसम्म पुगेको हुनुपर्ने, आइसपाण्ड गाइडको पहिलो, दोस्रो र तेस्रो तहको तालिम लिएको हुनुपर्नेछ ।
त्यति मात्र नभई हरेक तहमा लिखित परीक्षा, प्रत्येक वर्ष पुनर्ताजगी तालिम, कारनेट मेडल प्राप्त गरेको गाइडलाई मात्र हाई अल्टिच्युड माउन्टेन गाइडको लाइसेन्स दिने व्यवस्था छ । यो लाईसेन्स इन्टरनेसनल फेडरेशन अफ माउन्टेन गाइड एसोसिएसनले दिने गर्छ । हाई अल्टिच्युड माउन्टेन गाइडको तालिम लिनका लागि यस्ता चरणहरू पार गर्न कम्तीमा पाँच वर्ष लाग्नेछ ।
नेपाल सरकार तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिमप्राप्त हाई अल्टिच्युड माउन्टेन गाइडहरूलाई लाइसेन्स दिने तयारी गरेको छ । तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको पालामै यसबारे निर्णय भइसकेको र कार्यान्वयनको क्रममा रहेको पर्यटन विभागका सूचना अधिकारी थापाले बताए । उनका अनुसार अभिलेखीकरण र कामको सम्मानका लागि नेपाल सरकारको लोगोसहितको लाइसेन्स पहिलो पटक दिन लागिएको हो ।
उक्त लाइसेन्स पाँच वर्ष अवधिको हुनेछ भने अन्तर्राष्ट्रिय स्तरको हाई अल्टिच्युड माउन्टेन गाइड तालिम केन्द्र सञ्चालन गर्ने तयारी रहेको छ । त्यसको व्यवसथापनको काम पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गर्नेछ ।
नेपालमा धेरै हिमालहरू भए पनि हालसम्म अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित तालिम केन्द्रको व्यवस्थापन हुन नसकेकाले अब नेपालमै यस्तो तालिम केन्द्रको स्थापना गरी पर्यटन प्रवद्र्धन र तालिममा टेवा पु¥याउने योजना बनेको हो । नेपालमै तालिम केन्द्रको व्यवस्था गर्न सकेमा हाई अल्टिच्युड माउन्टेन गाइडको संख्या पनि बढ्ने पर्यटन व्यवसायीहरूको विश्वास छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६