काठमाडौं : ‘सगरमाथा क्लिनिङ क्याम्पियन–२०१९’ मा सगरमाथाको फोहोर संकलनको काम तीव्र पारिएको छ । जेठ ११ गतेभित्र सरसफाइ गरिसक्नुपर्ने भएको हुँदा काम तीव्ररूपमा भइरहेको आयोजकले जनाएको छ ।
शनिबार मात्र सगरमाथा आधार शिविर पुगेको टोलीले त्यस क्षेत्र र आसपासको सरसफाइबाट ६५ बोरा फोहोर संकलन गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सेनानी दीपेन्द्र न्यौपानेका अनुसार टोलीले संकलन गरेको फोहोरलाई व्यवस्थापनको कामसँगै माथिल्लो क्षेत्रमा संकलन भइरहेको छ ।
सगरमाथा क्लिनिङ क्याम्पयनको टोलीमा आधार शिविरसम्म जाने आयोजक संस्था खुम्बू पासाङल्हामु गाउँपालिकाका प्रतिनिधि, सगरमाथा प्रदूषण नियन्त्रण समितिका पदाधिकारी, नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्जका कर्मचारी छन् भने त्यसभन्दा माथि जाने तालिमप्राप्त १२ जना जनशक्ति खटिरहेका छन् ।
सगरमाथा क्लिनिङ क्याम्पियन २०१९ आयोजना गरेर सगरमाथा पूर्णरूपमा सफा बनाउने अभियान अनुसार खुम्बू पासाङल्हामु गाउँपालिकाको संयोजनमा दुई दर्जन विभिन्न निकायले कार्यक्रममा साझेदारी गरेका छन् ।
क्याम्पियनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाली सेना, प्रदेश नम्बर १, सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाल पर्वतारोहण संघ लगायतको आयोजना छ । साथै विश्व वन्यजन्तु क्षेत्र, कोकाकोला, तारा एयर, प्रभु बैंक, एनएमबी बैंक, नबिल बैंक लगायतको प्रायोजन रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६