काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले प्लेअफमा पुग्ने सम्भाना जिवित राखेको छ ।
गएराति भएको खेलमा हैदराबादले किंग्स इलोभेन पञ्जाबविरुद्ध सहज जित निकाल्यो ।
हैदरावादको घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले पञ्जाबलाई ४५ रनले हरायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।
२ सय १३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ८ विकेट गुमाएर १ सय ६७ रन मात्रै बनाउन सक्यो । पञ्जाबका लागि केएल राहुलले उत्कृष्ट प्रदर्शन गर्दै ७९ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
उनले ५६ बलमा ५ छक्का र चार चौका प्रहार गरेका थिए । त्यस्तै, मयंक अग्रवालले २७ रन बनाए । पञ्जाबमाथि जित हात पार्ने क्रममा अफगानी बलर राशिद खानले ४ ओभरमा २१ रन खर्चिएर तीन विकेट लिए भने खालिल अहमदले ४० रन खर्चिएर तीन विकेट लिए । त्यस्तै सन्दीप शर्माले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो ।
हैदरावादका लागि डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ८१ रन बनाए भने मनिस पाण्डेले ३६ रन बनाए । जितसँगै हैदरावादको १२ खेलबाट १२ अंक भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६