बागलुङः बागलुङको गलकोट नगरपालिका–४ खरुवाका भीमबहादुर क्षेत्री आर्थिक अभावकै कारण पढ्न नसक्ने बालबालिका पढाउने अभियानमा लागेका छन् ।
उनले न्यून आय भएका परिवारका १० बालबालिकालाई आफ्नै खर्चमा पढाउने व्यवस्था मिलाएका हुन् ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै क्षेत्रीले छात्रवृत्तिसहित १० कक्षासम्मको पढाइ खर्च व्यहोर्ने घोषणा गरेका हुन् । स्वर्गीय बुबाआमा डम्मरबहादुर र क्षेत्रकुमारीको स्मृतिमा बालबालिका पढाउने निर्णय लिएको क्षेत्रीले जानकारी दिए । बालबालिकाले वार्षिक १५ हजार रुपैयाँ छात्रवृत्तिसहित विद्यालय पोसाक र किताब कापीलगायतका सामग्री पाउने छन् ।
क्षेत्रीले वडा नं ४ को खरुवा मावि कक्षा ७ की छात्रा पुष्पा सुनार, कक्षा ६ की संस्कृति क्षेत्री, चमुवा आधारभूत विद्यालय कक्षा ५ की छात्रा हिरा शर्मा र कक्षा ८ मा अध्ययनरत छात्रा गरिमा नेपालीको पढाइ खर्च व्यहोर्ने भएका हुन् । यस्तै वडा नं ६ स्थित पार्वती मावि कक्षा ९ की छात्रा रोशनी कँडेल, वडा नं ३ को गलकोट मावि कक्षा ६ का छात्र वसन्तकुमार कार्की र गोल्डेन फ्यूचर सेकेन्डरी बोर्डिङ स्कूल कक्षा ३ की छात्रा आकांक्षा मल्ललाई पढाउने जिम्मा क्षेत्रीले लिएका छन् ।
छात्रवृत्तिसहित पढाइ खर्च पाउनेमा वडा नं ५ को पृथ्वी मावि कक्षा ६ का छात्र उडेस थापा, वडा नं २ स्थित महेन्द्र मावि कक्षा २ की छात्रा रोजिना नेपाली र वडा नं १ को सरस्वती मावि कक्षा ६ मा अध्ययनरत छात्रा विष्णु नेपाली छिन् ।
छात्रवृत्ति दिनका लागि वडा कार्यालयले विशेष पहल गरेको वडाध्यक्ष बलबहादुर खत्रीले बताए । ‘क्षेत्रीको सहयोगले विपन्न परिवारका बालबालिकाको पढाइमा सहयोग पुग्ने छ’, वडाध्यक्ष खत्रीले भने । गलकोट नगरपालिका शिक्षा शाखासँगको समन्वयमा खरुवा माविबाट छात्रवृत्ति वितरणको प्रबन्ध मिलाइएको छ ।
छात्रवृत्ति पाउने बालबालिकाको छनोट सम्बन्धित विद्यालयका प्रधानाध्यापकको सिफारिसमा गरिएको थियो । घरको आर्थिक अवस्था कमजोर भएका र पढाइमा जेहेन्दार बालबालिकाले छात्रवृत्ति पाउने भएका हुन् । बालबालिकाको पढाइ खर्च व्यहोर्ने क्षेत्री वैदशिक रोजगारको सिलसिलामा हाल जापानमा छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६