काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका चार मुलुकमा निःशुल्क भिसा र टिकटमा जाने कोही नभेटिएको बताएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर मंगलबार स्वदेश फर्किएका अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले ती देशमा निःशुल्क भिसा र टिकटमा जाने कोही नभेटिएको जनाएको छ । १० दिनको अबधिमा चार मुलुकमा हजारभन्दा बढी कामदारसँग भेटघाट र साक्षात्कार गरेको तर तीमध्ये एकजनाले पनि निःशुल्क रुपमा आफू नआएकोे बताएको समितिका सभापति प्रभु साहले जानकारी दिनुभयो । सभापति साहले भन्नुभयो – “निःशुल्क टिकट र प्रवेशाज्ञा कागजमा मात्रै सीमित रहेको देखियो, यसबारे पनि कडाइपूर्वक अध्ययन हुन जरुरी छ । समितिका सभापति साहको नेतृत्वको टोलीमा सांसदहरु विनोद श्रेष्ठ, प्रेमकिशोर प्रसाद साह, अशोककुमार मण्डल, राज्यलक्ष्मी श्रेष्ठ, राधादेवी तिमिल्सेनासहित नौ सदस्यीय थियो । टोलीले ती मुलुकका सरकारी अधिकारी, नेपाली नियोगका अधिकारी, नेपाली कार्यरत कम्पनी, नेपाली सङ्घ सङ्गठन र कामदारसँग छलफल गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७३