मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका– ६ स्थित नुनसरी–बक्राहा खोलामा आइतबार राती अत्याधुनिक हतियार फेला परेको छ ।
नेपाली सेनाले मात्रै चलाउँदै आएको एम १६ ए टु हतियार फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । अमेरिकामा बन्ने यो हतियारमा प्रोपर्टी अफ युएस गभरमेन्ट लेखिएको छ । डीएसपी श्रेष्ठका अनुसार क्यालिवर ५.५६ एमएम र ७४६२५६२ नम्बरको हतियार फेला परेको हो ।
उनले माटोभित्र पुरिएको अवस्थामा फेला परेको हतियारका धेरै पार्टपूर्जाहरू काम नलाग्ने र सडेको अवस्थामा रहेको जानकारी दिए । प्रहरीले थोत्रो अवस्थामा फेला परेका कारण हतियार धेरै पहिलेदेखि माटोमा पुरिएको हुन सक्ने अनुमान गरेको छ । फेला परेको हतियार इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बतए । उनका अनुसार अत्याधुनिक हतियार राइफलसहित म्यागजिन र त्यसमा लोड हुने पाँच राउण्ड गोली फेला परेको छ । द्वन्द्वकालमा सेनाले नेपालमा भित्र्याएको हतियार माओवादीले त्यही बेला सेनाबाट लुटेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
नुनसरी–बक्राहा खोलामा को१क २४९० नम्बरको जेसीबीले उत्खनन् गरेर बालुवा र माटो निकाल्ने क्रममा पुरिएको अवस्थामा हतियार फेला परेपछि प्रहरीले खवर पाएको थियो । वातावरणीय प्रभाव मूल्यांकन गरेर सो खोलामा उत्खननको अनुमति दिइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६