भोजपुर: भोजपुरको उत्तरी क्षेत्रको केन्द्रबिन्दु दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयका अधिकृत समायोजन भएर गएपछि स्थानीयबासी नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित भएका छन् ।
षडानन्द नगरपालिकाको दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयमा कार्यरत शाखा अधिकृत विजय राई प्रदेश नम्बर १ मा समायोजन भएर हिँडेपछि नागरिकता वितरणको कार्य पूर्णरूपमा बन्द भएको हो । राईका ठाउँमा पठाइएका अर्का कर्मचारीसमेत अन्यत्रै गएपछि थप समस्या देखिएको छ ।
इलाका प्रशासन कार्यालयमा अधिृकत नहुँदा नागरिकता लिन अहिले त्यस क्षेत्रका बासिन्दा जिल्ला प्रशासन कार्यालय भोजपुर आउने गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले बताए । उनले भने, ‘अधिकृत समायोजन भएर गएपछि समस्या भएको हो ।’
स्थानीय स्तरबाट नै सर्वसाधारणले प्रशासनिक सेवा सुविधा पाउनुपर्नेमा उत्तरी क्षेत्रका बासिन्दा भने नागरिकता बनाउन सदरमुकाम आउन बाध्य बनेको विषयमा गृह मन्त्रालयमा पनि जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारीले भट्टराईले बताए ।
दिङ्लामा दैनिक १०÷१५ वटा नागरिकताका लागि निवेदन आउने गरेको छ । अधिकृतको व्यवस्था नहुँदासम्म छ महिनाका लागि पाँच वर्ष कटेका नायब सुब्बालाई कायममुकायम दिएर नागरिकता वितरण सहज बनाउन सकिने भए पनि सो अवधि पुगेका नासु समेत नहुँदा थप समस्या देखिएको सहायक प्रजिअ भट्टराईको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६