काठमाडौं : एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि थाइल्याण्ड गएको नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।
नेपालले आइतबार थाइल्याण्डमा भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि जितेको गरेको थियो । विमानस्थलमा कप्तान विक्रम केसीले टुर्नामेण्टबाट धेरै सिक्न पाएको बताए । नयाँ खेलाडीहरूले विभिन्न देशका खेलाडीसँग खेल्दा आफ्नो गुणस्तरको मापन गर्न पाएको समेत उनको भनाइ थियो ।
बलिया टोलीसँग खेल्न पाएदेखि आफ्नो खेलमा अझ सुधार आउनसक्ने भन्दै कप्तान केसीले कुनै पनि खेलमा विपक्षलाई कमजोर सोच्न नहुने बताए।
थाइल्याण्डमा २० अप्रिलबाट सुरु भएको एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेटका लागि विशालविक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोली रहेको थियो । टोलीमा कप्तान विशालसँगै आसिस भट्टराई, प्रशान्त महत, आर्जु कुमाल, दीपक बोहरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल, कृश कार्की, तिलकराज भट्टराई, रोहन विक, प्रशान्त सिंह र सुशान्त थापा रहेका थिए।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६