काठमाडौं : वेस्ट इन्डिज क्रिकेट टोलीका सदस्य आन्द्रे रसेल आईपीएलका यस्ता खतरनाक खेलाडी हुन्, जो एक्लै खेलको पासा पल्टाउन सक्षम छन् ।
जमाइकामा जन्मिएका अलराउन्डर क्रिकेटर रसेल आइपीएलमा कोलकाता नाइट राइडर्सबाट खेल्दै आएका छन् । आईपीएलमा कुनै यस्तो टोली छैन, जो उनलाई आफ्नो टिममा राख्न नचाहोस् ।
तर कोलकाताका कप्तान दिनेश कार्तिकले आइतबार राति खेल जितेपछि दिएको बयानले भने सबै आश्चर्यमा परे । उनले भने, ‘आन्द्रे रसेल हुनुले केही हैरानी पनि हुन्छ...’
आन्द्रे रसेलले आइतबार मुम्बईविरुद्धको खेलमा ४० बलमा ८० रनको पारी खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा कोलकाताले जारी सिजनकै सर्वाधिक स्कोर बनाउने क्रममा २ विकेट गुमाएर २ सय ३२ रन बनायो ।
ठूलो स्कोर बनाएको कोलकाताले ३४ रनको जित दर्ता गर्यो । खेलपछि कार्तिकले भने, ‘यो सबैलाई थाहा छ कि रसेल विशेष खेलाडी हुन् उनी जुन प्रकारले चुनौतीको सामना गर्छन् र दबाबमा पनि राम्रो खेल्छन्, त्यो सिक्न लायक छ ।’
‘यदि तपाईको टोलीमा यस्ता बिग हिटर छन् भने कहिले काँही हैरानी पनि हुन्छ । अभ्यासका क्रममा केही बल गुमाउनु पनि पर्छ । बल महंगो हुन्छ,’ कप्तान कार्तिकले ठट्यौंली पारामा भने, म रसेललाई शान्त रहन भन्छु । उनी ठूला ठूला छक्का हान्छन् ।’
कोलकाताले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको मुम्बईका हार्दिक पान्ड्याले पनि सबैलाई जिब्रो टोक्न बाध्य पारे । उनले ३४ बलमा ९१ रनको विस्फोटक पारी खेले । उनको यो ब्याटिङले कुनै समय कोलकाताको २३२ रनको स्कोर पनि कम हुने अट्कल काट्न थालिएको थियो ।
तर पान्ड्याको मुम्बईले खेल जितेन । उनको ब्याटिङको पनि कार्तिकले खुलेर प्रशंसा गरे । उनले भने, ‘हार्दिकले गजबको शट खेले । उनको यो शानदार ब्याटिङको श्रेय पाउनु पर्छ ।’
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६