जाकर्ता : इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या सोमबारसम्म ३१ पुगेको छ ।
यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जानकारी दिएका छन् । यस बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरू ध्वस्त भएपछि १२ हजार बढी व्यक्ति विस्थापित भई शरणार्थी स्थलमा पुगेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी सडक पुललगायतका अन्य ४० वटा संरचनाहरू सो प्रकोपको कारण ध्वस्त भएका बताइएको छ ।
इन्डोनेसियामा बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोप बारम्बार सताइरहेको पाइन्छ । बाढीलगायतका प्राकृतिक प्रकोपमा परी इन्डोनेसियामा बर्सेनि हजारौँ व्यक्तिको मृत्यु हुने गरेको जनाइएको छ ।