बेलायतबाट आएको एक ‘मेल पार्सल’ मा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएपछि उक्त पार्सललाई बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले आइतबार जनाएको छ ।
चीनको मध्य क्षेत्रमा रहेको हुनान प्रान्तको छाङ्साबाट हालै कमिलासहित बरामद भएको पार्सलमा एक हजारभन्दा बढी ‘हार्भेस्टर एन्ट’लाई उसको खानाका लागि आवश्यक पोषणयुक्त खानासहित टेस्ट ट्यूवमा बन्द गरिएको अवस्थामा भेटिएको हो । चीनमा विदेशी जीवलाई पाल्ने सोख बढिरहेका समय कमिलाको उक्त प्रजातिलाई आयात गरिएको हुनसक्ने बताइएको छ । बरामद ‘हार्भेस्टर एन्ट्स’ मध्ये ३७ वटा एक दशमलब चार सेन्टिमिटर लामो काला तथा राता रानी कमिलाहरू रहेका र उनीहरू पनि अन्य कमिला झैँ टेस्ट ट्यूवमा खानासहित बन्द अवस्थामा भेटिएको हुनान प्रान्तको राजधानी छाङ्साका भन्सार अधिकारीहरूले बताएका छन् ।
रानी कमिलासँगै ठूलो सङ्ख्यामा ज्यामी कमिला र तिनीहरूका फुलसमेत पार्सलमा भेटिएको भन्सार श्रोतले जनाएको छ । सबै कमिला ‘हार्भेस्टर एन्ट’ प्रजातिका रहेका र सुन्दर भएका कारण जीव पाल्न सौखिन चिनियाँबीच उनीहरूको लोकप्रियता रहेको छ, एक अधिकारीले बताए । उक्त प्रजातीका कमिलाको प्रजनन् छिटो हुने भएकाले उनीहरूलाई हुर्काउन सहज मान्ने गरिएको जीवप्रेमी चिनियाँहरूले बताएका छन् ।
चीनमा हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानूनी बन्देज रहेको छ । अधिकारीले भनेका छन्, गैरकानूनीरूपमा आयात गरिने विदेशी कमिलाको प्रजातिका कारण मुलुकको पारिस्थितिक सन्तुलनमा जोखिम हुन्छ । चिनियाँ कानून अनुसार ती कमिला र पार्सललाई प्रक्रिया पु¥याएर नस्ट गरिने छ । चीनको फस्टाउँदो इ–कमर्सका कारण सर्प, साना ठूला किरा र छेपारो प्रजातीका विदेशी जीवहरूको आयात बढ्दो देखिएको छ । यसका कारण विदेशी जीव र कहिलेकाहीँ सङ्कटापन्न जीवको अवैध कारोबार गर्ने गरेको आरोप बेलावखत चीनमाथि लाग्ने गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६