काठमाडौं : यस वर्ष सगरमाथा सरसफाइ अभियानमार्फत् क्याम्प दुईसम्म पूर्ण ‘क्लिन’ गर्ने र त्यसभन्दा माथिका शवहरू व्यवस्थापन गर्ने उद्देश्यका साथ ‘सगरमाथा क्लिनिङ क्याम्पियन– २०१९’ टोली सगरमाथा आधार शिविर पुगेको छ ।
तालिमप्राप्त जनशक्तिसहित १४ जनाको टोली त्यहाँ पुगेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले बताए । सगरमाथा सफाइ गर्ने काम जोखिम र चुनौतीपूर्ण रहेको उनले बताए । हिउँ पर्ने, पग्लिने र हिमपहिरो जाने क्रम भइरहने उच्च जोखिमको क्षेत्र भएकाले अघिल्लो पटक देखिएको फोहोर अर्काे पटक पुरिन सक्ने समस्या भइरहने उनको भनाइ छ । उच्च हिमाली क्षेत्रमा मिनेट मिनेटमा मौसम परिवर्तन भइरहँदा समस्या हुने गर्छ ।
हिमाली क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार हिमाली क्षेत्रमा जति मौसम खुला हुन्छ, त्यति सफाइमा सहज हुने भए पनि मौसम खुला नहुँदा निरन्तर हिउँ झरिरहने तथा त्यसले भएका फोहोरहरू छोप्ने हुँदा यस वर्षको सरसफाइ चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।
सगरमाथाको बाटो निर्माणमा लामो समयदेखि काम गर्दै आएका आइसफल डाक्टर कामी शेर्पाका अनुसार निरन्तर हिउँ झर्दा देखिएका फोहोर पनि छोप्ने तथा घाम लाग्न थाल खुल्ने गर्छ । यस वर्ष गत वर्षको तुलनमा बढी मौसम परिवर्तन भइरहेको हुँदा क्याम्प दुईसम्म ‘क्लिन’ गर्ने योजनामा समस्या हुनसक्ने उनको अनुमान छ ।
यस वर्ष क्याम्प दुईसम्मको बाटो निर्माण गरिसकेपछि आइसफल डाक्टरहरूले पुनः बाटोमा थुप्रिएको हिउँ पन्छाउनुपरेको आइसफल डाक्टर शेर्पा स्मरण गर्छन् । यस वर्ष सगरमाथा आरोहणलाई विशेष रूपमा हेरिएको छ । बाटोमा देखिने शवले मानसिक रूपमा असर गर्ने भएकाले यस वर्ष पूर्ण सफाइ हुनेमा सगरमाथा आरोही कान्छीमाया तामाङ खुसी छन् । यस वर्ष पनि तामाङ नेपाल पर्यटन वर्ष– २०२० को झण्डासहित सगरमाथा आरोहणका लागि आधार शिविर पुगिसकेकी छन् ।
सगरमाथा क्षेत्रमा धेरै शवहरू थुप्रिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रचार भए पनि सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार छवटा मात्र छन् । जतिवटा शव भए पनि यस वर्ष क्लिन हुनसकेमा राम्रो प्रचार हुने आरोहीहरूको विश्वास छ । सगरमाथा क्लिन क्याम्पेन टोलीले चारवटा शव भेटेको बताएको छ ।
गत वैशाख १ गतेबाट सुरु भएको अभियान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बू पासाङल्हामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनामा ‘सगरमाथा क्लिनिङ क्याम्पियन– २०१९’ अभियान सुरु भएको हो ।
अभियानका लागि दुई करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुनेछ भने खुम्बू पासाङ ल्हामु गाउँपालिकाले ३० लाख तथा नेपाल पर्वतारोहण संघले २० लाख रुपैयाँ सहयोग गर्ने जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६