नेपाल अटोमाेबाइल स्पोर्ट्स एसोसिएसन नेपाल (नासा)ले आफ्नो स्थापनाको एक दशक मनाइरहेको छ यो वर्ष । स्पोर्ट्सबाट प्रवेश गरेको यो संघ आज महासंघ जस्तै बनेको छ– कार्यक्रमका हिसाबले । ख्यालख्याल जस्तै लाग्छ नेपालमा केही उत्साहितहरूले मोटर स्पोर्ट्स सुरु गरेको सम्झँदा । एक दशक पछाडि फर्केर हेर्दा केही हाँसो लाग्छ, केही रमाइलो अनि केही अनौठो पनि ।
नेपालमा मोटर स्पोर्ट्स हुन्छ र ? भन्ने अवस्था भएको देशमा अझ यसो भनौं आजसम्म नेपालका खेलकुद सचिव, मन्त्री, राष्ट्रिय खेलकुद परिषद् र सरकारी निकायहरूले मोटर स्पोर्ट्सलाइ आत्मसात् गर्न नसकिरहेको अवस्थामा १० वर्ष अगाडि त्यो हिम्मत गर्नु भनेको सानो दुस्साहस नै हो । ख्यालख्यालमै सही, केही नयाँ अभियान, केही नयाँपन खेलकुद र पर्यटनमा, केही नयाँपन नेपाली युवावर्गमा दिन सफल भएकैले हुनुपर्छ आज मोटर स्पोर्ट्स एउटा मुख्य विकल्प बन्न सकेको नेपाली साहसिक खेलकुद र पर्यटनको ।
हो, यो एक दशकमा नेपाल अटोमोवाइल्स एसोसिएसनले जे जति प्रगति गर्यो, सम्झनलायक गर्यो किन नभन्ने ? हामीले गाडीलाई भारी बोक्ने मात्र भनेर बुझ्यौँ र धोका पायौँ भने आज फेरि विलासिताका वस्तुको रूपमा मात्र बुझेर धोका खाँदै छौँ । खाँदै छौँ मात्र भए त हुने नि, देशलाई नै धोका खुवाउँदै छौँ ।
आज गाडी र मोटरसाइकल खेलकुदको साधन भइसके भन्ने यथार्थ थाहा पाउन हाम्रा भाग्यविधातालाई कति पो वर्ष लाग्दो हो ? त्यतिबेलासम्म तिनीहरूको जागिर त पाक्छ नै, हामीलाई खाडलमा, अझ ती आफैँलाई खाडलमा पुर्याएर मात्र बिदा हुने भए भन्ने पीर मात्र हो ।
स्वर्गीय हिक्मतबहादुर माली सबैका प्रिय व्यक्तित्व त थिए नै तर हत्तपत्त कसैले पनि अनुमान गर्न नसक्ने, कसैले पनि झट्ट ‘कन्भिन्स’ गर्छु भनेर गर्न नसक्ने कुन बेला कुन मुडमा छन् भनेर ।
२०५०÷०५१ तिर हुनुपर्छ डीएचएसीकेएमएसले एउटा सेमिनारको आयोजना गरेको थियो होटल सोल्टी क्राउन प्लाजामा । हो, त्यतिबेलै युनाइटेड ट्रेडर्स सिण्डिकेट (टोयोटाको वर्कसप)को तर्फबाट त्यसमा भाग लिन जाँदा भेट भएको हो उहासँग मेरो । त्यतिबेलाको सोल्टी, हिक्मत मालीको रवाफ र व्यक्तित्व, नेपालभरकै बडे बडे साहुजीको जमघट अनि त्यसमा म बबुरो, अहिले सम्झँदा अनौठो लाग्छ । दुई दिनजतिको थियो त्यो सेमिनार ।
सेमिनारबाट हिक्मत दाइ र कम्पनीले के के पाए वा पाएनन् ? वर्कसपवालाहरूले केही बुझे कि बुझेनन् ? हाम्रा साहुजीले लुब्रिकेन्ट व्यापार गरेर दाम कमाए कि कमाएनन् ? त्यो अब इतिहास भइसक्यो– नलेखेको इतिहास । एउटा कुरा भने गज्जबले जम्यो– त्यो दिनदेखि माली दाइ र मेरो सम्बन्ध ।
न उमेर मिल्ने, सम्पतिको त के तुलना गर्नु ! साथी र आफन्त पनि कोही छैनन् हाम्रा संयुक्त । तर खोइ त्यो सेमिनारमा मेरो जिज्ञासुपन र सक्रियता ? धेरै प्राविधिक पक्षलाई पनि रमाइलोसँग प्रस्तुत गर्ने कला ! अनि अन्य सहभागीलाई गर्ने मेरो व्यवहारले मात्र होला त म उहाँको नोटिसमा परेको ?
दुर्भाग्य, हामीले लामो समय संगठित सहकार्य गर्न पाएनौँ– अन्य सम्बन्ध लामै भए पनि । जति गर्यौँ, त्यसले नेपाली अटोमोवाइल, नेपाली खेलकुद र नेपाली पर्यटन क्षेत्रलाई केही न केही दिन सक्यौँ भन्दा बढी नहोला ।
मोटर स्पोर्ट्सले संगठित भएको सवा सय वर्ष हुन लाग्यो संसारमा । अन्तर्राष्ट्रिय महासंघहरू बनेका १०० वर्षभन्दा पनि पछि हो हाम्रो नेपालमा सुरुवात । नेपालमा मान्छेको काँधमा बोकिएर गाडी आएको सवा सय वर्षपछि त्यही गाडीलाई खेलौनाको रूपमा प्रयोग गर्न पाउनु कम्ती रोमाञ्चित अनुभव होइन । त्यस्तै, हिमालै हिमाल, पहाडै पहाड अनि कम्जोर आर्थिक अवस्था भएको मुलुकमा मोटर स्पोर्ट्स, मोटरसाइक्लिङ स्पोर्ट्सलाई विश्वमा चिनाउनु, विश्वकै ट्र्याकमा कुदाउन पाउनु पनि कम्तीको कुरा होइन ।
आज नेपाली खेलकुदको मुख्य विधा हो– साहसिक तथा पर्यटकीय खेलकुदहरू, त्यसको जगमै छ मोटर र मोटर साइक्लिङ स्पोर्ट्स । आज नेपाली पर्यटनको एक मात्र विकल्प, अझ यसलाई दुईवटा पनि भन्न सकिन्छ, ड्राइभ र टु ह्विल टुरिङ र साहसिक पर्यटन ।
हो यी दुबैको जगमै छन् अटो स्पोर्ट्स, अटोमोवाइल र मोबिलिटी इभेन्टहरू । सामाजिक सद्भाव र एकता, युवाजागरण, महिला सशक्तीकरण, रोजगारी र उद्यमशीलता जस्ता बहुआयामिक परिचय दिने अटोमोवाइल र मोटर स्पोर्ट्समा छौँ भन्दा किन खुसी नहुने ?
भनेजति गर्न नसके पनि १० वर्षको काममा असन्तोष मान्ने कारण देखिँदैन नासा नेपालको । अब बिस्तारै कर्पोरेट क्षेत्रको प्रवेश जरुरी छ यो स्पोर्टमा । त्यतातर्फ ध्यान दिन जरुरी छ नयाँ नेतृत्वले ।
एक जना व्यक्तिका लागि एक दशक लामो अवधि मानिन्छ तर एउटा अभियान र संगठनका लागि त्यो समय त्यति पर्याप्त हुँदोरहेनछ प्रतिफल निकाल्न । यसको अर्थ पहिलो एक दशकमा केही प्रगति भएन भन्न खोजेको होइन । अर्को दशकमा चामत्कारिक परिणामको तयारीमा छौँ भनेको मात्र हो ।
आज स्पोर्ट्स स्पोर्ट्स मात्र रहेन, त्यो उद्यम, रोजगारी र पर्यटन पनि भयो भन्दा हामी मोटरिङ, साइक्लिङ, गल्फ, प्याराग्लाइडिङ, र्याफ्टिङ जस्ता इभेन्टलाई बुझ्छौँ, जुन नेपालको यथार्थ हो । तर त्यसलाई बुझ्नुपर्नेले नबुझेपछि के लाग्छ ? हामीले बाँदरलाई टाउकामा लालीगुराँस त लगाएनौँ ? कहिलेकाहीँ आउने प्रश्न मात्र होइन, यथार्थ हो यो मुलुकको ।
केपी ओली जस्ता स्वप्नद्रष्टा प्रधानमन्त्री भएको देशमा पनि अनौठा अनौठा, गतिहीन र उद्देश्यहिन नेतृत्व छ खेलकुद र पर्यटनमा भन्दा साह्रै ननिको लाग्छ । यो मन्त्रीको मात्र कुरा होइन, सचिव तथा हाकिमहरू, पर्यटन बोर्ड र परिषद् जस्ता निकायमा समेत यस्तै अवस्था छ । प्याराग्लाइडिङले ल्याएको पदक होस् वा संसारकै र्याफ्टिङको क्षेत्रम नेपालीले बनाएको स्थान, तिनलाई कसले बताइदिने होला !
विस्तारै मानिसको रुचि फेरिँदो छ । अब एकै किसिमको न पर्यटन चल्छ, न त खेलकुद नैे । चल्छ त केवल कर्मचारीको रोजीरोटी । आधारभूत खेलकुद, प्रतिस्पर्धात्मक खेलकुद, पर्यटकीय खेलकुद गरी तीन तहमा कार्य गरे मात्र सकारात्मक परिणाम पाउँछ राष्ट्रले । एउटा संघले गर्ने भन्ने र परिणाम पाउने त यति हो, जुन एक दशकमा हामीले पायौँ ।
हाम्रा नेपाली राइडर्सहरू आज विश्वका थुप्रै देशका प्रसिद्ध रेसिङ सर्किटमा आफूलाई प्रतिस्पर्धामा उतार्न सफल भएका छन् । त्यस्तै, एसियास्तरीय प्रतियोगितामा नेपाली ड्राइभरको प्रस्तुति गर्व गर्नलायकको छ । सीमित साधन स्रोतका बाबजुद यो सफलताबाट किन दुखी हुनु ? एउटा बीमा ऐन मात्र नेपालको साहसिक खेलकुदको पक्षमा भएको भए अझ राम्रो प्रगति गर्न सकिन्थ्यो । त्यसमा भने दुःख लागेको छ ।
टुरिङ क्षेत्रमा यो एक दशकमा आमूल परिवर्तन आएको छ । सरकारी निकायले मानोस नमानोस्, दुनियाँले जानेको के हो भने नेपाल ड्राइभ टुरिजम र टु व्हिल टुरिङका लागि विश्वमै प्रख्यात देश हो । त्यसैमा आधारित रहेर हाम्रा क्लबहरू, जिल्ला र स्थानीय संघहरूसँग आज थुप्रै टुरिङका इभेन्टहरू छन् । जुम्ला, रारा होस् या लोमन्थाङ, जिरी होस् या सोलु, पाथिभरादेखि लुम्बिनीसम्म छन् आज हाम्रा इभेन्टहरू । भनेजति गर्न नसके पनि १० वर्षको काममा असन्तोष मान्ने कारण देखिँदैन नासा नेपालको । अब बिस्तारै कर्पोरेट क्षेत्रको प्रवेश जरुरी छ यो स्पोर्टमा । त्यतातर्फ ध्यान दिन जरुरी छ नयाँ नेतृत्वले ।
निकट भविष्यमै साधारणसभा र निर्वाचन गर्दै छ नासा नेपालले । त्यसबाट दीर्घकालीन कार्यक्रम र कुशल नेतृत्व आउला भन्ने आशा गरौँ । त्यसले नेपाललाई साहसिक खेलकुद र पर्यटनको केन्द्र बनाउने मोटर र मोटरसाइकलमार्फत् थुप्रै फाइदा उपभोक्तालाई दिलाउने, युवाहरूलाई खेलकुदमार्फत् सकारात्मक बाटोमा हिँडाउने र समृद्ध नेपालको निर्माणमा थोरै भए पनि योगदान दिन सके जीवनको सुनौलो समय खर्च गरेकामा कुनै पछुतो हुनेछैन ।
(लेखक माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका अध्यक्ष हुन् भने नेपाल आटोमोवाइल्स एसोसिएसनका संस्थापक महासचिव हुन् ।)
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६