काठमाडाैं : नेपालमा पछिल्लो समय २ करोड ४८ लाख किलाे तयारी चिया उत्पादन भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार जसमा एक करोड ८८ लाख केजी सिटिसि तथा ५९ लाख केजी अर्थोडक्स चियाको उत्पादन भएको छ ।
कुल क्षेत्रफल मध्ये १३ हजार ९ सय २७ हेक्टरमा साना किसान तर्फको खेती विस्तार भएको छ । साना चिया किसानहरुको संख्या करिब १५ हजार १ सय पुगेको छ । हाल तराईमा ३२ वटा सिटिसी र २ वटा अर्थोडक्स चिया प्रशोधन केन्द्रहरु सञ्चालनमा रहेको कार्यकारी निर्देशक गौतमले जानकारी दिए । पहाडमा ३१ वटा ठूला तथा मझौला अर्थोडक्स चिया प्रशोधन केन्द्र सञ्चालनमा छन् ।
करिब नाै खर्बको व्यापार घाटा रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली चिया क्षेत्र आत्मनिर्भर भई आव २०७४/७५ मा तीन अर्ब २५ करोड रुपैयाँ बराबारको एक लाख ५२ हजार ५ सय ८५ मेटन चिया निर्यात भएको बोर्डको तथ्याङ्क छ ।
पछिल्लो समयमा स्पेसियल्टी र ग्रीन टिको माग परिपूर्ति गर्न सय भन्दा बढि लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा आएका छन् । चिया उद्योगले करिब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । करिव ९ खर्बको व्यापारघाटा रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली चिया क्षेत्र आत्मनिर्भर भई आव २०७४/७५ मा ३ अर्ब २५ करोड रुपैयाँ बराबारको एक लाख ५२ हजार ६८५ मेटन चिया निर्यात भएको बोर्डको तथ्याङ्क छ । यद्यपी उक्त आवमा १२ करोड रुपैयाँ बराबरको ३७२ मेट्रिक टन चिया आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कले देखाएको छ । विगत वर्षहरुमा जस्तै यस वर्ष पनि बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाइएको छ । यस वर्षको चिया दिवसको सन्दर्भमा ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा चिया उद्योगको विकास र संरक्षण गरौं’ को मूलनारा तय गरिएको थियो ।
आव २०७४/७५ को तथ्याङ्क अनुसार २८ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा चिया खेतीको विस्तार भई सकेको छ । यसको विस्तार पुर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लाहरुका अलावा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङ, आदि जिल्लाहरुमा समेत उत्साहजनक रुपमा विस्तार भइरहेको कार्यकारी प्रमुख गौतमले जानकारी दिए ।
चियाको ट्रेडमार्क
बोर्डका कार्यकारी निर्देशक गौतमका अनुसार नेपाली अर्थोडक्स चियाको ट्रेडमार्क कार्यान्वयनका लागि निर्देशिका तयार भईसकेको र सोको कार्यान्वयनका लागि काम भइरहेको छ । गौतम भन्छन्, ‘यससँगै नेपाली अर्थोडक्स चियाले ब्राण्ड पहिचान बनाई तेश्रो मूलुकमा निर्यात बढाउने निश्चित छ ।’
चिया उद्योगको विस्तार
पछिल्लो समय चिया कृषक आफैले वा सहकारी अन्तर्गत साना देखि ठूला चिया प्रशोधन कारखाना स्थापना गर्ने कार्यले अभियानको रुप लिएको बोर्डको तथ्याङ्क छ । यसले गर्दा विगतमा देखिएको चिया किसान र उद्योग वीच हुने गरेको चियाको हरियोपत्तीको मूल्य विवादको समस्या हल भएको छ । तथापी, चियाको राष्ट्रिय औद्योगिक प्रशोधन क्षमताको दाँजोमा हरियो पत्तिको उत्पादन न्युन हुने देखिएकोले हालको उत्पादन क्षमतालाई औद्योगिक आवश्यकता अनुकुल हुने गरी विस्तार गर्नु पर्ने देखिन्छ ।
चियाको बजारीकरण
हालसालै स्थापना भएका नयाँ उद्योगहरुबाट उत्पादित तयारी चियाको बजारिकरणमा केही समस्या देखिएकाले गुणस्तर सुधार गर्दै भारत बाहेक तेश्रो मूलूकको बजार खोजी गर्नु आजको आवश्यकता भएको बोर्डले जनाएको छ । साथै, नेपाली चियाको पहिचान एवम् बजार विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाहरुमा प्रवद्र्धनात्मक कार्यक्रमका लागि निरन्तरता दिनु पर्ने बोर्डद्वारा आयोजित कार्यक्रमका वक्ताहरुले उल्लेख गरेका छन् । यसका अलावा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु मार्फत आगामी दिनमा नेपाली चियाको प्रवद्र्धनात्मक कार्यक्रमहरु गरिनेछ । लण्डनस्थित नेपाली राजदुतावसको अग्रसरतामा आगमी जेठ÷असारमा नेपाली चिया महोत्सवको आयोजना गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
चिया मजदुरको समस्या
नेपाल सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी चिया मजदूरको न्यूनतम पारिश्रमिक २७८ बाट वृद्धि गरी ३८५ रुपैयाँ निर्धारण गरेको छ । तर चिया उद्योगलाई राज्यको तर्फबाट थप सुविधा नभएसम्म बढेको ज्याला दिन नसक्ने चिया उद्योगीहरुको भनाई र बढेको ज्याला निःशर्त पाउनु पर्ने भन्दै चिया मजदुर आन्दोलित रहेका छन् । जसका कारण इलामका केही र झापाका धेरैजसो बगान र कारखानाहरु अहिले बन्द छन् । जसकारण वर्षभरकै उत्कृष्ट गुणस्तरको मानिने पहिलो टिपाई (फस्ट फ्लस) नष्ट भएको र चिया उद्योगलाई दैनिक लाखौं रुपियाँ घाटा भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६