काठमाडौं : नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधी उचालेको हो ।
थाइल्यान्डमा जारी फाइनलमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया ८० रन बनाउँदा अलआउट भयो ।
नेपाली किशोर बलरहरुको धारिलो बलिङसामू मलेसियाका कुनै पनि ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन् । मलेसियाका लागि मोहम्मद हजिक अइमानले १८, वान मोहम्मद आजमले १६ र जितेन्द्र मुरलीले १४ रन बनाउनुबाहेक कुनै ब्याट्म्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले ४, दिपक बोहराले ३ तथा क्रिस कार्की र निखिल कुमार सिंहले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए भने दीपक बोहराले २३, विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६