काठमाडौं : इन्डियन प्रिमियर लिग क्रिकेटअन्तर्गत शनिबारराति भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई हराएर प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।
शनिबारराति भएको खेलमा राजस्थानले हैदरावादलाई ७ विकेटले हराएर अंक बराबरी पनि गरेको छ । राजस्थान जितसँगै लिगको छैठौं स्थानमा उक्लिएको छ ।
हैदरावादले दिएको १ सय ६१ रनको लक्ष्य राजस्थानले ३ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो ।
राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८, लियाम लैभिङस्टोनले ४४ रन बनाउँदा अजिंक्या रहानेले ३९ र कप्तान स्टेभन स्मिथले २२ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । हैदरावादका लागि मनिस पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै ३६ बलमा ६१ रन बताए भने डेभिड वार्नरले ३७ तथा रसिद खानले १७ रन जोडे ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६