काडमाडाैं : कक्षा १२ को वार्षिक परीक्षा आज सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा भैरहेको छ ।
कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको वार्षिक परीक्षा वैशाख २६ गते समाप्त हुने छ ।
त्यसैगरी कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख २९ बाट सुरु भएर जेठ ८ गते समाप्त हुने बोर्डले जनाएको छ ।
परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका कक्षा १२ मा ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी छन् । कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरि जम्मा ९ लाख ३६ हजार ५ सय ६ (जसमध्ये छात्र ४ लाख ४२ हजार, ९ सय ९७ र छात्रा ४ लाख, ९३ हजार ५ सय ४९) परीक्षार्थी सहभागी हुने बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए ।
नेपालभर कुल १ हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १ सय २२ र सबैभन्दा कम मनाङ-मुस्ताङमा १-१ केन्द्र निर्धारण गरिएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६