ए ! २०७६ सालको भूकम्प त ठूलै गएछ ।
कति राम्रो थियो, सबै भत्काएछन् ।
गरिबलाई ऐन छ, धनीलाई चैन छ ।
मिलेर पैसा खाए, अनि जनतालाई नौटंकी देखाए ।
गरिब जनतामारा नीति...
यस्तै आवाजहरू सुनिन्थे काठमाडौंको खुल्ला मञ्चमा । ठाउँठाउँमा मानिसको भिड जम्मा भएको थियो । कतिपय दुःखका कुरा गर्दै । केही आक्रोशित थिए । त कोही ‘लुट मच्चिरहेको थियो, राम्रै काम गरेछ’ भने प्रशंसा गर्दै थिए ।
शनिबार काठमाडौं महानगरपालिकाले खुला मञ्चमा अवैधरूपमा निर्माण गरिएका सटरमा डोजर चलाएपछिको अवस्था थियो त्यो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा खुला मञ्चमा निर्माण गरिएका सटर डोजर लगाएर हटाइयो ।
कतिपय व्यापारीहरूले केही सामान उठाउन भ्याए । केहीले त मेसो नै पाएनन् । जिल्ला प्रशासन कार्यालय, महानगरपालिका र सुरक्षाकर्मीको टोलीले बसपार्कका सटर भत्काउन थालेपछि सटर भाडामा लिएका व्यापारीको भने भागाभाग भएको थियो । व्यापारीहरू भन्दै थिए, ‘समयमै सूचना दिएको भए सामान निकाल्न पाउने थियौँ ।’
त्यही भत्एिएका सटरमध्येका एक व्यापारी सुमन खत्रीले कपडा पसल सञ्चालन गर्नका लागि दुई वटा सटर भाडामा लिएका थिए । एउटा सटरको आठ लाख रुपैयाँ भाडा भनिएको थियो । उनले दुइटा सटरका लागि ११ लाख बुझाइसकेका थिए ।
‘भ्यू टावरका ठेकेदारहरूले तपाईंहरू ढुक्क हुनुस् । हामी तीन वर्षका लागि ग्यारेन्टी दिन्छौँ वडा अध्यक्ष, मेयर, उपमेयर, सिडिओ लगायतसँग सम्झौता भइसकेको छ भनेका थिए’, उनी भन्छन्, ‘नगरपालिकामा दर्ताका लागि पाँच हजार दिनुपर्छ र मासिक दस हजार तिर्नुपर्छ भनेका थिए ।’
‘ठेकेदारमाथि ठेकेदार थपिएका छन् । एकजनाले अलि धेरै सटर लिएर एउटाकोे १५ लाखसम्म लिएका छन्’, उनले सुनाए । स्पटमा भेटिएकामध्ये कोही सामान कुरेर बसेका थिए भने कोही गलत व्यक्तिको पछाडि लाग्दा समस्यामा परेको बताउँदै थिए । उनीजस्तै थुप्रै व्यापारीले भ्यू टावरका ठेकेदारलाई रकम बुझाएका छन् ।
महानगरपालिकाले पुरानो बसपार्कमा २१ तल्ले भ्यू टावरसहितको बहुउद्देश्यीय कम्प्लेक्स बनाउने अनुमति पाएको ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोईसँग नै खुला मञ्च अत्यावश्यक केही सटर बनाउने सम्झौता गरेको थियो ।
तर, त्यहाँ ४३ सटर बनाएर भाडामा लगाइएको थियो । सार्वजनिक स्थानमा फरक प्रयोजनका लागि काम गर्न दिइएको भए पनि निर्माण व्यवसायीले अवैधरूपमा सटर निर्माण गरी व्यापारीलाई बिक्री गरिएको पाइएपछि स्थानीयवासी तथा सरोकार भएका व्यक्तिले तत्काल हटाउन आग्रह गर्दै आएका थिए ।
काठमाडौँ महानगरले सार्वजनिक जग्गामा सटर बनाउन दिएको विषयमा चौतर्फी विवादित बन्न पुग्यो । अन्ततः शनिबार सार्वजनिक स्थान व्यक्तिले कब्जा गरेको पाइएपछि डोजर लगाइएको हो ।
सार्वजनिक स्थानमा बनाएका प्रतिसटर ११ लाख रुपैयाँ सलामी लिएर बिक्री गरेको व्यापारीले जानकारी दिएका छन् ।
सटर भाडामा लिएका अधिकांश व्यापारी र निर्माण व्यवसायीबीच कुनै पनि प्रकारको लिखित सम्झौतासमेत नभएको पाइएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले रकम असुलेको आफूले पनि सुनेको बताए ।
आजको न्युजसँग कुरा गर्दै मेयर शाक्यले सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएको बताए । उपमेयर हरिप्रभा खड्गीले समयमै प्रतिवेदन बुझाएको भए सटर पहिले नै खाली भइसक्ने उनको भनाइ थियो । ‘चैत २४ गतेको नगर परिषद् बैठकमा उपमेयरलाई खुला मञ्चमा बनिरहेका सटर अनुगमन गरी खाली गराउन निर्देशन दिइएको हो । उहाँले निर्देशनअनुसार काम गर्नुभएन’, उनले भने, ‘उपमेयरले समयमै प्रतिवेदन दिएको भए अहिलेसम्म ती सटर खाली गराउने काम भइसक्थ्यो, तपाईंहरू यहाँ आउनैपर्ने थिएन, न त हिजो विरोध गर्नुपथ्र्यो ।’
मेयरले आफूलाई फसाउन कांग्रेसले खेल खेलेको आशय व्यक्त गरे । आफूलाई असफल पार्नका लागि कांग्रेस लागिपरेको उनको भनाइ थियो । कामपा–२८ मा रहेको खुला मञ्चमा सटर बन्दा उक्त वडाका अध्यक्ष र त्यही वडाका बासिन्दा उपमेयरलाई समेत थाहा नभएकोप्रति उनले आश्र्चय व्यक्त गरे ।
प्रस्तुति : विवश कुलुङ र कुञ्जरमणि भट्टराई
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६