छम्पी (ललितपुर) : विद्यार्थीलाई कृषि शिक्षा र जानकारी दिने उद्देश्यले खोलेको गोदाबारी नगरपालिका वडा नं. ९, छम्पी–भन्ज्याङस्थित एडु फार्मका सञ्चालक दीपक थापा भन्छन्, ‘स्कूलले विद्यार्थीलाई कृषि जानकारी दिन थाल्नु राम्रो हो, तर, पर्याप्त भने छैन ।’ यही उद्देश्यले थापाले सोमप्रसाद पनेरुसँग मिलेर विगत १९ महिनादेखि फार्म निर्माण गर्दै आएका छन् ।
निर्माणको काम पूर्ण नभए पनि छ महिनाअघिदेखि फार्म सञ्चालनमा ल्याएका छन् । १८ रोपनी ‘स्याल कुद्ने डाँडा’ भाडामा लिएर सुरु गरेको यो फार्ममा गाई, भैसी, भेडा, बाख्रा, लौकाट, टर्की, बट्टाई, लुइचे, कुखुरा, खरायो तथा कुखुराको विभिन्न प्रजातिहरू राखेका छन् ।
विद्यालयसँग सम्पर्क गरी विद्यार्थीहरूलाई यो फार्ममा ल्याएर कृषि शिक्षा दिनेदेखि खेतबारीमा लगेर खन्न, रोप्न वा काट्न पनि सिकाइन्छ । सञ्चालक थापा भन्छन्, ‘एकै दिनमा सबै कुरा त थाहा हुँदैन, त्यही पनि कृषिको सामान्य ज्ञान भने थाहा पाउँछन् ।’
अहिलेसम्म अढाई करोड रुपैयाँ बैंक ऋण लिएर थालनी गरेको फार्ममा विद्यार्थीलाई मात्रै नभएर परिवारले आफ्नो बच्चालाई लिएर समेत जान सक्ने छन् । अर्का सञ्चालक सोमप्रसाद पनेरु भन्छन्, ‘साथीभाइ मिलेर आउँदा पनि नहुने होइन, तर फोकस विद्यार्थी हुन् ।’
‘विद्यार्थीलाई खेतबारीमा केही समय काम गर्न लगायो भने बल्ल शहरमा साग बिक्री गर्ने आमाहरूसँग तरकारी किन्दा बार्गेनिङ गर्दैनन्’, पनेरु भन्छन्, ‘आधा घण्टा काम गर्दा हातमा ठेला उठेपछि बल्ल किसानको दुःखको मर्म बुझ्छन् र, किसानलाई सम्मान गर्न थाल्दछन् ।’
झण्डै आठ जना कर्मचारीका साथै दुई सञ्चालक आफैँ खटेर काम गर्छन् । आफ्नै अर्गानिक फार्म छ । यहाँ आउनेहरूलाई सञ्चालकहरूले भन्ने गरेका छन्, ‘सुधारिएको गोठमा बस्नुस, कृषिबारे अध्ययन गर्नुस्, स्थानीय स्तरमा पाउने मिठानमिठा खानेहरू खानुस् ।’
डाँडामा बस्ने, खाने, कार्यक्रम गर्ने र सुत्ने कोठाहरू ‘सुधारिएको गोठ’ बनाइएको छ । प्रवेशद्वारबाट दस मिटर कलात्मक काठका टेवल र बेन्च बनाइएको छ । त्यहाँ बसेर धूमपान गर्न पाइन्छ । त्यहाँबाट अगाडि बढेपछि भने धूमपान गर्न पाइने छैन । त्यो डाँडाको पूर्वी भागको तलपट्टी पशुजन्य क्षेत्रका लागि गोठ तथा खोरहरू निर्माण गरिएको छ ।
यहाँ लोकल कुखुराको परिकार कोदोको ढिँडो, स्थानीय चामल, साग लगायतका परिकार पाइन्छ । एकपटक यो ठाउँको स्वाद चाखिसकेकाहरू प्रायः फर्किएर फेरि पुग्ने गरेका छन् । मार्केटिङको एउटा प्रमुख माध्यम भनेकै माउथ पब्लिसिटी हुने गरेको यहाँका सञ्चालकहरू बताउँछन् ।
शुक्रबार कृषि पत्रकारहरूको टोलीले फार्मको अवलोकन गरेकाे थियाे । तीन दर्जन कृषि पत्रकारहरू सबैले यहाँको स्वादको प्रशंसा गरेका थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव गंगा आचार्यले शनिबार बिहान थोरै कोदोको ढिँडो, चामलको भात र कुखुराको झोलको स्वाद चाखे । कृषि पत्रकारहरूसँग प्रांगारिक अभियानबारे छलफल गर्न आएका आचार्यले भने, ‘साँच्चै यहाँको स्वाद चहकिलो रहेछ । चाँडै फेरि आउँछु ।’
त्यस्तै राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी, प्रांगारिक अभियन्ता डा.कृष्ण पौडेलहरूले पनि यहाँको ठाउँ र खानाको स्वादको प्रशंसा गरेका थिए ।
राजधानीमा एकसेएक होटेलहरू छन् । विश्वभर पाइने खानेकुरा पाइन्छ । मंहगो उस्तै हुन्छ । तर, बसेर शान्तसँग खाने ठाउँ भने खासै हुँदैन ।
तर, एकान्तकुनाबाट लगभग सात किलोमिटर उत्तरमा रहेको विशाल क्षेत्रफलमा हरियाली वातावरणमा बसेर खानुको मज्जा शब्दमा बयान गर्न सकिँदैन । एक साँझ निमेषभरमै बितेजस्तो लाग्छ । हल्का डाँडा, हरियाली रुखहरू, शीतल हावा, बाँसले निर्माण गरिएका कोठाहरूमा बसेर खानुको मज्जै बेग्लै हुन्छ । अधिकांश पत्रकारहरू भन्दै थिए, ‘परपर भुटेको लोकल कुखुराको मासुसँग लिएको चुस्कीको वर्णन गरेरै सकिँदैन ।’
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६