नेपालमा बढेको बलात्कारको घटनाले सडकदेखि सदनसम्म तातिएको छ । तर बलात्कारको घटना दिनानुदिन बढिरहेको छ । पछिल्लो समय बलात्कारका घटनाको उजुरी बढ्नुले बलात्कार बढेको देखाउँछ ।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना प्रदेश नम्बर १ मा भएको पाइएको छ । चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी बलात्कारका घटना भएको प्रदेश १ हो भने सबैभन्दा कम भएको प्रदेश ६ हो ।
प्रहरीको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्म देशभरमा एक हजार चार सय ४५ जना महिला बलात्कृत भए । जसमध्ये एक चौथाई अर्थात् तीन सय ६५ घटना १ नम्बर प्रदेशमा भएको हो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार प्रदेश नम्बर २ मा एक सय ९३, प्रदेश ३ मा तीन सय ३६ (जसमा उपत्यकामा मात्र एक सय ९४), प्रदेश ४ मा एक सय १२, प्रदेश ५ मा दुई सय ४७, प्रदेश ६ मा ९१ र प्रदेश नम्बर ७ मा एक सय एक बलात्कारका घटना भए ।
त्यस्तै आठ महिनाको तथ्यांकअनुसार १० वर्षमुनिका एक सय ८९ बालिका बलात्कृत भए । ११ देखि १६ वर्ष उमेर समूहका पाँच सय ७३, १७÷१८ वर्षका एक सय ३७ जना बलात्कृत भए भने १९ देखि २५ वर्ष उमेर समूहका दुई सय ४२, २६ देखि ३५ वर्ष उमेर समूहका एक सय ७१, ३६ वर्षदेखि ४५ वर्षका ६६ जना र ४६ वर्षभन्दा माथिका ५५ जना बलात्कृत भएका प्रहरीको तथ्यांकमा उल्लेख छ ।
बलात्कृतमध्ये सबैभन्दा बढी जनजाति बालिका र महिला बलात्कृत भएका छन् । त्यसपछि दलित, मधेसी र क्षेत्री समुदायका महिला र बालिका बलात्कृत भएका छन् । जनजातिमा बालिका तीन सय ४१ र महिला एक सय ८५ गरी पाँच सय २६ जना, महिला ७९ र बालिका एक सय ५५ गरी दलित सामुदायका दुई सय ३४ जना, महिला एक सय ५२ र बालिका ७८ गरी दुई सय ३० जना मधेसी र क्षेत्री समुदायका महिला एक सय र बालिका एक सय २९ महिला गरी दुई सय २९ जना बलात्कृत भएको प्रहरी तथ्यांकमा उल्लेख छ । त्यस्तै, ब्राम्हण ९४ जना, अन्य सामुदायका ४४ र नखुलेका (जात, क्षेत्र) ८८ जना बलात्कृत भएको प्रहरीले जनाएको छ ।
तथ्यांकअनुसार १० वर्षमुनिका बालिका बलात्कारको संख्या पनि धेरै छ । प्रदेश १ मा ४८, प्रदेश २ मा २२, प्रदेश ३ मा ४१, प्रदेश ४ मा १२, प्रदेश ५ मा ४४, प्रदेश ६ मा सात र प्रदेश नम्बर ७ मा १५ गरी एक सय ८९ जना १० वर्षमुनिका बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ ।
समाजमा पहिले बलात्कारका घटना अपरिचित र गुण्डाहरूबाट मात्र भएको र हुन्छ भन्ने मानसिकता थियो । तर, अहिले आफन्त र चिनजान भएकैबाट बलात्कार हुने ‘ट्रेन्ड’ बसेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदी बताउँछन् ।
सुवेदीका अनुसार पछिल्लो तीन वर्षको आँकडालाई हेर्दा ७० प्रतिशत चिनजानबाट बलात्कार भएको छ भने ६४ प्रतिशत बालिकाहरू त्यसको शिकारमा परेका छन् । पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको र चेतनाका कारण घटना बाहिर आउन थालेकाले अझ संख्या बढेको देखिएको प्रहरीको अनुमान छ ।
प्रहरीको तथ्यांक र महिला अधिकारकर्मीको भनाइ हेर्दा पुरुषको तुलनामा बढी महिलाहरू आर्थिक संटकमा पर्छन् । त्यसपछि चिनेजानेका हरूबाटै आर्थिक लगायत विभिन्न सहयोगको माध्यमबाट महिलाहरूसँग नजिक हुने र नजिकिएको मौकालाई दुरुपयोग गरेर बलात्कारको हदसम्म पुग्ने गरेका छन् ।
राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष रेणुका मल्लका अनुसार पछिल्लो समयको घटना अध्ययन गर्दा चिनजान भएकैबाट बढी बलात्कार भएको देखिएकाले यसमा आर्थिक अभाव र प्रलोभनले मुख्य भूमिका खेलेको देखिन्छ । उनको भनाइमा आर्थिक अभाव भएकी महिलालाई प्रलोभनमा पार्ने र सोही बहानामा बलात्कारको हदसम्म पुग्ने गरेको पाइएको छ । साथै घटना बढेको भन्दा पनि बाहिर ल्याउने काम भएकाले बढी देखिएको उनको भनाइ छ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डिनको कार्यालयकी प्रशासन प्रमुख तथा युनियन नेसनल इन्टरनेसनल महिला समिति नेपालकी पूर्वउपाध्यक्ष डा रेणुका थापाका अनुसार पनि बलात्कारको संख्या बढेको नभएर पीडितहरू सचेत भएका हुन् । थापा भन्छिन्, ‘मैले कानुनी उपचार खोजिनँ भने पुनः पीडित भइरहनुपर्छ, मैले कानुनी उपचार खोज्नैपर्छ भनेर बाहिर ल्याइएको हो ।’
साथै नेपाल पृतिसत्तात्मक देश भएकाले ‘केटी प्रयोग हुने जात हो, जे गर्दा पनि हुन्छ, उनीहरू बोल्न सक्दैनन् । आवाज उठाए पनि उनीहरूकै बेइज्जत हुने हो’ भन्ने मानसिकताले पुरुषहरू बलात्कारको हदसम्म पुग्ने गरेको उनको बुझाइ छ ।
महिला वा बालिका मात्र बलात्कृत हुँदैनन् । मन नपरेको मानिसले वा मन परेको मानिस भए पनि मन नभएको समयमा जबर्जस्ती गरिने यौनजन्य व्यवहार बलात्कार हो भने १६ वर्ष उमेर पूरा नभएकामाथि हुने प्रेमिल व्यवहार भए पनि कानुनतः बलात्कार नै हो ।
बलात्कारको शिकार जो पनि हुन सक्छन् । तर नेपालको हकमा भने आठ महिनाको अवधिमा बलात्कृत पुरुषको संख्या शून्य छ । धेरैजसो घटना बाहिर आउँदैनन् । उजुरी परेका घटनालाई मात्र हेर्ने हो भने आठ महिनाको अवधिमा औसत दैनिक छ महिला बलात्कृत भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६