काठमाडौं : तीन वर्षअघि, २०७२ सालमा कल्याणपुर–८ का बेचु मण्डलसँग १५ वर्षकाे कलिलो उमेरमा कञ्चनदेवी खत्वे मण्डलले धूमधामका साथ मागी विवाह गरिन् । उनको परिवारको आर्थिक अवस्था कमजोर भएको तथा सानै उमेरमा विवाह गर्ने चलनअनुसार उनले सानै उमेरमा बिहे गरिन् । तर आज उनै कञ्चनदेवी खत्वे मण्डलको १८ वर्ष कलिलो उमेरमा ज्यान गएको छ ।
कञ्चनदेवीको विवाहपछिको वातावरण दुई वर्षसम्म राम्रै रह्यो । उनका श्रीमान्बाट राम्रै साथ पाइन् । घरको पनि आर्थिक अवस्था कमजोर भए पनि उनका श्रीमान् बेचु मण्डल भारत श्रम गर्न जाने र समयसमयमा घर आउने गर्थे । बेचु र कञ्चनदेवीको मायाको चिनोस्वरुप एक वर्षअघि छोरी जन्मिइन् । छोरी जन्मिएपछि कञ्चनदेवीको परिवारमा झगडा सुरु भयो । त्यो झगडाको रूप बुबा लोचन मण्डलको कानसम्म पनि पुग्यो ।
कञ्चनदेवीका बुबाका अनुसार सामान्य झगडा भइरहन्थ्यो । एक वर्षअघि नातिनीको जन्म भएपछि सासू र बुहारीबीचमा खटपट सुरु भयो । श्रीमान् काम गर्न भारत गइरहेका हुँदा सासूबुहारीको झगडा भइरहन्थ्यो । तर बेचुको कानसम्म पुग्दैनथ्यो । किनकि उनीहरूको परिवारमा मोबाइल समेत नभएको उनका बुबा लोचन मण्डलको भनाइ छ ।
गत बुधबारको दिन बेलुका कञ्चनदेवीको घरमा मासु पाकेको थियो । श्रीमान् पनि घर आएको हुँदा सबै मिलेर मासु खाने सल्लाह हुँदा सबै खुसी हुने नै भयो । श्रीमान्ले मादकपदार्थ पनि त्यो दिन सेवन गरे । अरूबेला पनि मादकपदार्थ सेवन गरेको बेला श्रीमान्ले बढी ‘टर्चर’ दिन्थे । श्रीमान्ले मादकपदार्थ सेवन गरिरहेको समयमा कञ्चनदेवीकी सासूले छोरालाई ‘तेरी श्रीमती लैजा । यहाँ हामीलाई हेला गर्छे, हेर्दिन’ भनेर कुरा काट्न थालिन् । अनि कञ्चनदेवीलाई श्रीमान्, सासू र नन्द लागेर मासु समेत खुवाइएन । उनी भोकै सुतिन् ।
कञ्चनदेवी र श्रीमा्नबीचको झगडा बिहीबार बिहानसम्म चलिरह्यो । भनाभन भइरह्यो । सबैले मासु खाँदा मलाई किन भोकै राखियो भनेर उनले पतिसँग झगडा गरिन् । बिहीबार करिब ११ बजेको समयमा घरमा राखिएको मट्टितेल कञ्चनको शरीरमा उनकै श्रीमान्ले खन्याएर आगो लगाइदिएको मृतक कञ्चनको भनाइका आधारमा उनका बुबा लोचन मण्डलले बताए । श्रीमान् श्रीमतीबीचको झगडा परालको आगो भनिन्छ तर परालको आगोमा मट्टितेल प्रयोग हुँदा कञ्चनको जलेर मृत्यु भएको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि काठमाडौैं रेफर गरिएको थियो । काठमाडौं सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर अनिता थापाका अनुसार समयमा आइपुगेको भए बचाउन सम्भव हुन सक्ने भए पनि ढिला गरी आएकाले बचाउन नसकिएको हो ।
कञ्चनदेवीको पोलिएको घाउ भएकाले जोखिम बढी हुने तथा छालाको ८५ प्रतिशत जलेको र सास फेर्ने नलीसमेत सुन्निएको हुँदा चिकित्सकहरूको प्रयास असफल भएको हो । साथै आगोले पोलेको बिरामीको नसा साँघुरिदै जाने भएकाले यसको कारण ब्लड सर्कुलेसनमा समस्या हुने गर्छ ।
कानुनी जटिलताका कारण समयमा अस्पताल ल्याउन नसकिएको बिरामीको स्याहारमा सहभागी तथा सहयोगी बब्लु गुग्ताले बताए । बिरामीका आफन्तले जिम्मा नलिएसम्म प्रहरीले रेफर गरिएको बिरामी नदिने भएपछि रेफर भइसकेको बिरामी छ घण्टा बिपी प्रतिष्ठानमै राख्नु परेकाले मृत्यु भएको उनको भनाइ छ ।
बिरामीलाई लामो यात्रा गराउनु परेकाले ढिलो भएको तथा अन्य छिटो विकल्प प्रयोग गर्न नसकेको हुँदा समयमा उपचार नपाएको अर्का सहयोगी आस्था पौडेलले बताइन् ।
कञ्चनदेवीको मृत्यु भएको अस्पतालले घोषणा गरिसकेको भए पनि उनका बुबासँग छोरीको शव उठाउने रकम समेत नहुँदा शव अस्पतालमै राखिएको छ भने सहयोगीहरू आर्थिक संकलनमा लागेका छन् । बब्लु गुप्ता, आस्था पौडेललगायतको टिम सहयो जुटाउन लागिरहेको छ ।
यता प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतककी सासूलाई हिरासतमा राखिएको र पति बेचु मण्डलको खोजी भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६