काबुल : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कडा सुरक्षाबीच नयाँ सांसदहरुलाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम गरेका छन् । उनले भने , तपाईहरु अफगानिस्तानी जनताका प्रतिनिधि हो, कुनै एक व्यक्ति विषेश मात्रै होइन, त्यसैले देश र जनताको हितका लागि काम गर्नुपर्दछ ।
देशको सत्रौँ संसदको उद्घाटन समारोहमा उहाँले सवैलाई हातेमालो गरेर देशको विकास र सम्वृद्धिका लागि सहकार्य गर्न पनि आग्रह गर्नुभयो । सन् २००१ मा तालिवान लडाकूहरुले विद्रोह सुरु गरेपछि अफगानिस्तानमा अहिले तेस्रो संसद गठन भएको हो । पछिल्लो संसदीय निर्वाचन अफगानिस्तानमा गत बर्षको अक्टोबर २० तारिखका दिन भएको थियो ।
देशको केही स्थानको मत परिणाम निर्वाचन आयोगले अहिलेसम्म पनि घोषणा नगरेको समाचारमा जनाइएको छ । निर्वाचनमा झण्डै २६ सय उम्मेदवार रहेका थिए । ती मध्ये झण्डै चार सय महिला रहेका थिए ।
संसदको तल्लो सदनको २५० सिटका लागि उनीहरु मैदानमा उत्रिएका हुन् । निर्वाचनबाट नयाँ र युवा सांसदहरु निर्वाचित भएको बताउदै राष्ट्रपति घानीले उनीहलाई महिला अधिकार, मानवअधिकार र अन्य अधिकार रक्षाका लागि काम गर्न आग्रह गरे । समारोहपछि समथग्रहण गर्न बाँकी केही सांसदहरुलाई पनि सपथग्रहण गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६