अमेरिका । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएको छ । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहनुभएका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहनुभएका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो । “खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले भन्नुभयो – “अब यसको मर्मत सम्भार गरेर आगामी डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने सोच बनाएका छौँ । मर्मत सम्भार गर्न र पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।” घिमिरेले दिनुभएको जानकारी अनुसार चार महिनाको अवधिमा मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका ८०० परिवारको सहयोगमा रकम सङ्कलन गरिएको हो । छोटो समयमा यसरी रकम सङ्कलन गर्न सफल भएर नेपाली समुदायले महत्वपूर्ण सन्देश दिन सफल भएको छ । “हामीहरुले यो अभियानमा दोस्रो पुस्ताका युवायुवतीलाई समेत परिचालन गर्दै उनीहरुको संलग्नतामा यसलाई सफल बनाउन लागिपरेका छौँ,” घिमिरेले अगाडि थप्नुभयो – “पारदर्शिता, स्वच्छ कार्यशैली र समुदायको प्रतिबद्धताको कारणले हामी यो सम्पत्ति खरिद गर्न सफल भएका छौँ ।”
प्रकाशित मिति: आइतबार, चैत १३, २०७३