खोटाङः बिहीबार भएको भारी वर्षापछि आएको बाढीले मुहान पुरिँदा दिक्तेल बजारमा खानेपानी अवरुद्ध भएको छ ।
बिहीबार दिउँसो हावाहुरीसँगै भएको भारी वर्षापछि आएको बाढीले दिक्तेल बजारमा विस्तार गरिएको दुवै मुहान पुरिँदा बिहीबार साँझदेखि खानेपानी अवरुद्ध भएको हो ।
बाढीले मुहान पुरिएसँगै खानेपानी अवरुद्ध भएपछि अहिले दिक्तेल बजारमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा विस्तार गरिएको सात सय ३० वटा धारामा पानी अवरुद्ध भएपछि अहिले बजारबासी आसपासको गाउँमा पुगेर धारा तथा कुवाको पानी ल्याएर उपभोग गर्न बाध्य भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको सिरानमा रहेको रम्बाखोला र माझखोला मुहान पुरिएपछि खानेपानी अवरुद्ध भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताए । ‘दिक्तेल बजारमा विस्तार गरिएको पानीको दुवै मुहान खुला ठाउँमा छ’, उनले भने, ‘मुहानदेखि माथिबाट झरेको बाढीले दुवै मुहान पुरिएको छ । सफा गर्न कामदार खटाएका छौँ । चाँडै नै सञ्चालन हुन्छ ।’
अवरुद्ध खानेपानी सञ्चालन भएपछि प्रशोधन नगरी उपयोग नगर्न बजारवासीलाई उपभोक्ता समितिले अनुरोध गरेको छ । दिक्तेल बजारमा विस्तार गरिएको खानेपानीमा ३० प्रतिशत कोलिफर्म (दिसामा पाइने कीटाणु) रहेको पाइएकाले प्रशोधन गरेर मात्र उपभोग गर्न अनुरोध गरिएको समितिका अध्यक्ष जोशीले बताए ।
दिक्तेल बजारमा लामो समयदेखि खानेपानीको समस्या भए पनि सम्बन्धित निकायले चासो नदिएको दिक्तेल बजारस्थित सल्लेरीटोलका गुणराज सैंजूले आरोप लगाए । ‘दिक्तेल बजारमा खानेपानीको समस्या झेल्नुपरेको लामो समय बित्यो’, उनले भने, ‘सम्बन्धित निकायले तत्काल दीर्घकालीन समाधान नखोजेमा दिक्तेल बजारमा खानेपानीसम्बन्धी जटिल समस्या निम्तने निश्चित छ ।’
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६