यो हो टेस्लाको बहुप्रतीक्षित मोडल ३ ! जम्मा ३५ हजार डलर आधार मूल्य रहेको यो इलेक्ट्रिक कारले विश्व कार बजारमा सुनामी ल्याउने सङ्केत दिएको छ ।
मोडल बजारमा आएको छ महिनाभित्रै नर्वे, जर्मनीलगायतका धेरै देशमा यो सबैभन्दा बढ़ी बिक्ने इलेक्ट्रिक कार बनेको छ । फ्रेन्च कार कम्पनी रेनाल्ट र जापानिज निशानको संयुक्त भेन्चरमा उत्पादित लीफ कारलाई पछि पार्दै टेस्ला मोडल ३ युरोपमा सबैभन्दा बढ़ी बिक्ने इलेक्ट्रिक कार बनेको हो ।
इलेक्ट्रिक कार मात्रै होइन, यसले मर्सिडिज, बिएमडब्ल्यु, आउडीजस्ता लग्जरी कारका डिजेल-पेट्रोल फेमिली सेडानको बिक्रीलाई समेत उछिनेको छ ।
मागअनुसार सप्लाई हुन सक्ने हो भने स्थापनाकालदेखि नै घाटामा रहेको टेस्लाको भाग्य त फेरिने छ नै, विश्व कार बजारको अनुहार पनि फेरिने आशा गर्न सकिन्छ ।
प्रति चार्ज तीन सय ५० किमीभन्दा बढ़ी गुड्ने टेस्लाको यो बेसिक मोडल लग्जरियस पनि छ । सुरक्षा, सुविधा, मजबुती आदि धेरै क्षेत्रमा ध्यान दिइएको कारमा ३६० डिग्री क्यामेरादेखि अटोपाइलटसम्मका सुविधा जोड्न सकिन्छ । तपाईं सिटमा बसे मात्रै पुग्छ, लेन चेन्ज गर्नेदेखि आवश्यक पर्दा स्पीड घटाउने-बढाउने सबै यसले आफै गर्ने छ । पार्किङ्ग त आजभोलि सबै कारले आफै गर्छन् नै ।
निकट भविष्यमा नै तपाईंले अलिकति पैसा खर्च गरेर ग्यारेजको ढोका स्मार्ट बनाएपछि सयौं किलोमिटर टाढाबाट घरमा रहेको कारलाई मोबाइल एपमार्फ़त आफूछेउ झिकाउन सक्नुहुने छ । बाहिर जाँदा आउँदा एअरपोर्ट उत्रेपछि यो तपाईंलाई लिन आफै गुडेर आइपुग्यो भने, सोच्नुस् त कति रमाइलो होला !
यही मे महिनाभित्रै यो कार बेलायत आउँदै छ । दायाँतिर ड्राइभर सिट बनाउनुपर्ने हुनाले यहाँ आउन ढिलो भएको हो । यहाँ यसको मूल्य ३० हजार पाउण्ड रहने विश्वास छ ।
स्वच्छ, सुरक्षित, आधुनिक र किफायती यो कारको मूल्य नेपाली रुपियाँमा जम्मा ४० लाख पर्छ । धेरै खच्चड इन्डियन कारलाई हामी ४० लाख भन्दा धेरै तिरिरहेका छौं । कारसँगै डिजेल र पेट्रोलमा करोडौं त उतै गइरहेछ, देशमा प्रदूषण र धूलोधुवाँ पनि बढ्दो छ ।
केही वर्ष भन्सार छुट दिएर यस्तै कार नेपाल झिकाउने हो भने दीर्घकालमा देशलाई धेरै फाइदा हुन्थ्यो । किन्दा पनि सस्तो पर्ने यो कारले दुई-चार वर्षमा इन्धनमा मात्रै लाखौं बचाउन सक्थ्यो । यद्यपि यसका सबै आटोमेटिक फिचरहरू उपयोग गर्न भने सडकमा स्पष्ट लेन, रोड साइनहरू र ट्राफिक लाइट चाहिन्छ । प्रजातन्त्र आएको जम्मा तीस वर्ष त भएको छ । अब केही दशकभित्रै सडकमा लेन र ट्राफिक लाइट पनि कसो नबन्ला र ? त्यतिन्जेल ड्राइभरले नै चलाए भयो । लामो रेन्ज भएकाले चार्ज पनि घरमैं गर्न सकिन्छ ।
नचले पनि विद्युतीय बसको त तामझामसँग उद्घाटन भएकै हो, यस्ता कामलाग्दा कुरामा नेपाल सरकारको धारणा के छ कुन्नि ? कम्तीमा डेढ़-दुई करोड़का महँगा र प्रदूषणकारी कार चढ्नुभन्दा सरकारी निकायले यही कार अर्डर गर्ने हो भने पैसा र वातावरण दुबै बच्थ्यो । पेट्रोलमा हुने भ्रष्टाचार पनि कम हुन्थ्यो । सन्देश पनि जान्थ्यो । बिजुली त हामीसँगै छ । व्यापारघाटा पनि कम हुन्थ्यो । अहिले त मन्त्री र सचिबले दोहोरो तेहोरो पेट्रोलको पैसा बुझिरहेछन् ।
मसँग त सरकारसम्म पुग्ने आबाज छैन, तपाईंसँग भए, लौ न !
(नारायण गाउँलेको फेसबुक वालबाट)
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६