पाल्पा : निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन । केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भए पनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्रपंक्तिमा आउँछ ।
सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ । समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने प्रवृत्ति शिक्षकको छ ।
पाल्पा रामपुर नगरपालिका–४ देवीस्थानस्थित कालिका आधारभूत विद्यालयले यसै शैक्षिक सत्रदेखि विद्यालय समयमा मोबाइल फोन प्रयोगमा निषेध गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीको सहमतिमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि शिक्षक वा कर्मचारीले मोबाइल फोन प्रयोग गर्न नपाउने नियम लागू गरिएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गरी नमुना विद्यालयका रुपमा चिनाउन विद्यालयले सुरु गरेको यो कार्यप्रति सरोकारवालाले प्रशंसा गरेका छन् । यसै विद्यालको सिको नगरपालिकाका अन्य विद्यालयले पनि गर्ने तयारीमा छन् ।
कक्षाकोठाभित्रै शिक्षकले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकको गुनासो आएपछि विद्यालय समयभित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले जानकार दिए । ‘भर्ना अभियानका क्रममा घरदैलो गर्दा कक्षाकोठाभित्रै शिक्षण कार्य रोकी शिक्षक फोन उठाएर आनन्दले कुराकानी गरेर बस्छन्, विद्यार्थीले के सिक्छन् ? अन्य विद्यालयमा भर्ना गराउने कुरा अभिभावकले गरेकाले तत्काल समितिको बैठक बसेर यस्तो निर्णय गरेका हौँ’, अध्यक्ष ठाडाले भने ।
यसमा सरोकार भएका पक्षको सहमतिमा शैक्षिक सत्रको सुरुआतमै मोबाइल फोन विद्यालय समयभित्र निषेध गर्ने कार्य सुरु गरिएको उनको भनाइ छ । अत्यावश्यक काम परे प्रधानाध्यापकको मोबाइलबाट शिक्षकलाई अनूकुल समय मिलाएर कुरा गराउने व्यवस्था मिलाइएको छ । खाजा खाने समयबाहेक अरु समय मोबाइल फोन प्रधानाध्यापकको निगरानीमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सोमबहादुर सेनले जनाए ।
यसै शैक्षिक सत्रदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्यालको प्रवेशद्वारमा साँचो लगाउने गरिएको छ । यस विद्यालयमा कक्षा नर्सरीदेखि ४ सम्म अङ्ग्रेजी माध्यम र पाँचदेखि आठसम्म नेपाली माध्यममा पठनपाठन भइरहेको छ ।
अघिल्लो शैक्षिक सत्रको तुलनामा विद्यार्थी भर्नादर पनि बढ्दो छ । हाल विद्यालयमा एक सय ३० विद्यार्थी र दश शिक्षक कर्मचारी छन् । कक्षा कोठाभित्रै शिक्षकले फोनको घण्टी बज्नासाथ उठाएर कुरा गर्ने प्रवृत्तिले विद्यार्थीको पठनपाठनमा बाधा परिरहेको थियो ।
शैक्षिक गुणस्तर सुधारका निम्ति रामपुर नगरपालिका भित्रका सबै विद्यालयमा विद्यालय समयभित्र मोबाइल फोन प्रयोग नगर्न अनुरोध गरिएको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्यालले बताए । –रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६