काठमाडाैं : पति र सासूले मटितेल छर्किएर जिउँदै जलाएर गम्भीर घाइते भएकी सिरहा कल्याणपुर नगरपालिका–८ की २० वर्षीया कञ्चनदेवी खत्वे मण्डलकाे उपचारका क्रममा निधन भएकाे छ ।
आगोले शरीरको ८० प्रतिशत भाग जलेर गम्भीर घाइते उनकाे उपचारकाे क्रममा साँखुस्थित सुस्मा काेइराला मेमाेरियल अस्पतालमा निधन भएकाे हाे । बिहीबार दिउँसो घरायसी झगडा हुँदा उनका पति र सासूले शरीरमा मटितेल छर्किएर आगो लगाएका थिए । शरीरको सम्पूर्ण भाग आगोले जलेर गम्भीर घाइते भएपछि प्रहरीले उनको उद्धार गरेको थियो ।
जलेर घाइते कञ्चनदेवीको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियाे । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ ल्याएर उपचार भइरहेकाे थियाे ।
निधन भएको पुष्टि भइसकेपछि अहिले पोस्टमार्टमको प्रक्रिया जारी रहेको अस्पतालमा रहेका हाम्रा संवाददाता विवश कुलुङले जानकारी दिएका छन् । उनका अनुसार मृतकको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पोस्टमार्टमपछि शव उठाउने कुरामा पनि समस्या रहेको बुझिएको छ ।
बिहान धरानबाट काठमाडौंसम्म ल्याएको एम्बुलेन्स भाडा पनि अन्य व्यक्तिहरुले उठाएर तिरिदिएको जानकारी प्राप्त भएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६