भीमदत्तनगर : साठी वर्षीया हेमादेवी केसी प्रचण्ड गर्मीको वास्ता नगरी गत शनिबार महाकाली नदीको किनारमा बालुवा, गिट्टी छानिरहेकी भेटिइन् । परिवारको आश्रयमा रमाउँदै विश्राम लिनुपर्ने बेलामा नदीको तातो बालुवासित संघर्ष गर्नु उनकोे बाध्यता हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली किनारमा झुपडी बनाएर बस्दै आएकी हेमादेवीले बालुवा र गिटी संकलन गरेर बिक्री गर्दै आएको नौ वर्ष भयो । छोरा–बुहारी भए पनि उनी लामो समयदेखि एक्लै बस्दै आएकी छिन् ।
‘छोरा भारतमा काम गरेर मासिक २५ हजार कमाउँछ रे’, उनले भनिन्, ‘छोराबुहारी सुखले बसे पनि मेरो यो हाल छ ।’
ज्वरो आउँदा पनि नांगा हातले गिट्टी संकलन गरिरहेकी हेमादेवी बगरमा भएको कमाइले आफ्नो खर्च टार्दै आएको बताउँछिन् ।
‘घरमा खालि बस्नुभन्दा चिनी÷चियापत्ती खर्च त हुन्छ भनेर महाकालीमा दैनिक आउँछु’, उनले भनिन्, ‘अब जेठपछि त नदीमा पानी बढ्छ, काम पनि गर्न सकिँदैन ।’
एक सातासम्म संकलन गरेपछि ट्र्याक्टरको एक ट्रली बालुवा बिक्री गर्न सकिने हेमादेवीको भनाइ छ । ‘दाम तलमाथि भइरहन्छ’, उनले भनिन्, ‘गिटी १२ सयदेखि दुई हजार रुपैयँसम्ममा बिक्री हुन्छ ।’
त्यसैगरी बेलौरी नगरपालिका–२ कञ्जका ६५ वर्षीय ठग्गु राना श्रीमती मिठुलाई लिएर सात महिनादेखि महाकालीमा गिट्टी र बालुवा छान्दै आएका छन् । ‘बुढेसकालमा सुखसयलले बसौँला भन्ने त सपनाजस्तै भो’, गत कात्तिकदेखि महाकालीमा मजदुरी गर्दै आएका उनले भने, ‘छोरीले यहाँ मजदुरी गर्न लिएर आएकी हो ।’
‘कान्छो छोराको घरमा बस्दै आएको थिएँ’, उनले भने, ‘के गर्ने हजुर पेटका लागि दुःख गर्नुपर्ने रहेछ ।” ठग्गुका कान्छा छोरा भने मिस्त्रीको काम गर्छन् । ‘छोरी यहाँ नाति÷नातिनीसहित बगरमा काम गर्छे’, उनले भने, ‘आफूसित भएको छ कठ्ठा जमिनमा परिवारको खर्च धान्न सकिँदैन ।’
दोदा नदी छेउमा रहेको जमिनसमेत कटान गरिरहेकाले कटान नियन्त्रण नभए बाढीको शिकार हुने चिन्ताले सताउने उनको गुनासो थियो ।
नदीमै मजदूरी गर्दै आउनुभएका भीमदत्तनगरपालिका–१२ का ४६ वर्षीय शम्शेर सुनाहाको दिन पनि नै महाकालीमै बित्छ । श्रीमतीसहित नदीमा बालुवा÷गिट्टी संकलन गरिरहेका उनले आफ्नो परिवारको खर्च नै महाकालीको मेहनतबाट टरेको बताए ।
‘यहाँको कमाइले छोराछोरीको पढाइ र खाने अन्न किन्न पुगेको छ’, उनले भने, ‘बुबा÷बाजेका जीवन महाकालीमै माछा मारेर दिन बिते, हामीले भने बालुवा बेच्नुपरेको छ ।’
भीमदत्तन गरपालिकामा छरिएर रहेका सुनाहा जातिका अधिकांश बासिन्दा महाकालीमा मजदुरी गरेर परिवारको जोहो गरिरहेको शम्शेर सुनाहाको भनाइ थियो ।
सोही स्थानमै १७ वर्षदेखि परिश्रम गर्दै आएका ऐरीका बलराम सुनाहाले पनि घर व्यवहार बालुवा÷गिट्टी संकलनबाटै चलाउँदै आएको बताए । ‘आर्थिक स्थिति नाजुक हुँदा उमेरमा पढ्न पाइएन । अहिले महाकालीको बगर रोजगारीको गन्तव्य बनेको छ’, उनको भनाइ थियो । -रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६