काठमाडौंः खुलामञ्च लोकतन्त्रमा आफ्नो विचार राख्ने खुला स्थान हो । तर २०७२ सालको भूकम्पपछि खुलामञ्च खुला नभएर सधैँ व्यस्त बनेको छ । खुलामञ्च नाम मात्रैको छ, न राति खुल्छ, न त दिउँसो नै ।
सैनिक मञ्च टुँडिखेलसँगै रहेको खुलामञ्चको बेहाल छ । त्यहाँ सवारीसाधन, निर्माण सामग्री र अस्थायी टहराले भरिभराउ छ । हरेक राजनीतिक आन्दोलन र परिवर्तनको साक्षी बसेको खुलामञ्च अहिले फोहोरको डुंगुर, बस स्टेसन र स्थायी भवन निर्माण क्षेत्र बनेको हो ।
खुलामञ्चको केही भाग लामो र छोटो दूरीका गाडी छुट्ने बसपार्कले ओगटेको छ । केही बचेको ठाउँमा निजी पार्किङ स्थल छ । खुलामञ्चको केही भागमा नजिकै निर्माण भइरहेको वीर अस्पतालको निर्माण सामग्री थुपारिएको छ ।
अर्कातिर अस्पताल निर्माणमा खटिएका शर्मा कन्स्ट्रक्सनका कामदारको अस्थायी बासस्थानका लागि बनाइएका कोठे टहराहरू छन् । पाँच भागको एक भाग जति चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनका कामदाहरूको आवासगृह बनाइएको छ । रातो छाना भएको तीनवटा भवनमा २० भन्दा बढी कोठासहितको भवन हेर्दा विद्यालय जस्तो देखिए पनि भानु माध्यमिक विद्यालय निर्माणको जिम्मा पाएका सांघाई कन्स्ट्रक्सनको कामदारको आवास गृह हो ।
त्यस्तै विभिन्न सामग्री तथा टहराले खुलामञ्च खुला हुन नसकेको हो । २०७२ सालको भूकम्पपछि उपत्यकाका हजारौँ नागरिकले धेरै रात सुरक्षित बासका लागि प्रयोग गरे । त्यसपछि खुलामञ्च कहिले खुलेन । विभिन्न राजनीतिक दल, भ्रातृ संगठन, शैक्षिक संस्था, विभिन्न संस्थाको कार्यक्रमस्थल तथा विचार राख्ने स्थान अहिले खुला नभएर व्यस्त बनेको हो ।
खुलामञ्च लोकतन्त्रमा खुला रूपमा विचार राख्न पाइने ठाउँ हो । विचार र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड छ । तर यहाँ तथा स्वतन्त्रताको स्पट नै बन्द गरिँदै छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र १९६६, मानवअधिकार तथा मौलिक स्वतन्त्रताहरूको संरक्षणसम्बन्धी युरोपेली, अन्तर अमेरिकी अभिसन्धि र अफ्रिकी बडापत्रजस्ता अन्तर्राष्ट्रिय संयन्त्रसँगै नेपालको संविधानले पनि जनताको यो अधिकारको संरक्षण गरेको छ ।
नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय अनुबन्ध–१९६६ को धारा १९ को (१) मा प्रत्येक व्यक्तिलाई बिनाकुनै हस्तक्षेप आफ्नो विचार राख्न पाउने अधिकार हुने छ भन्ने उल्लेख छ ।
यो स्थान सभा सम्मेलन, भण्डार स्थलको रूपमा स्थापित गरिएको हो । अहिले टुक्रिँदै, चोइटिँदै गइरहेको छ । यसले निर्माण कम्पनीलाई सहयोग पुगिरहेको भए पनि विभिन्न सभासम्मेलन तथा ठूला कार्यक्रमहरू सडकमा धकेलिएको हुँदा सरकारी सम्पत्तिको दुरूपयोग भइरहेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६